यी हुन् सडक मिचेर बनाइएका काठमाडौँमा १९ वटा प्रहरी बिट
काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र १९ वटा वडामा नेपाल प्रहरीले बाटो मिचेर प्रहरी बिट स्थापना गरेको पाइएको छ । काठमाडौँका १९ वटा वडामा बाटो मिचेर प्रहरीले प्रहरी बिट स्थापना गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ४ मा रहेको प्रधानमन्त्रीको सरकारी निवास अगाडि पनि सडक मिचेर प्रहरी बिट स्थापना भएको महानगरले जनाएको छ । त्यसैगरी वडा नम्बर ९ मा रहेको त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल अगाडि पनि ट्राफिक बिट स्थापना गरिएको छ ।
वडा नम्बर १६ मा माछापोखरी प्रहरी बिट, वडा नम्बर ३२ स्थित पेप्सिकोला चोकमा प्रहरी बिट, वडा नम्बर १३ स्थित ताहाचलमा प्रहरी बिट, वडा नम्बर ६ स्थित बौद्ध प्रहरी अगाडिको प्रहरी बिट, वडा नम्बर ७ मा रहेको रातोपुलको प्रहरी बिट, वडा नम्बर ३१ मा रहेको देउराली क्लब प्रहरी बिट, वडा नम्बर १७ धोबी चौरमा रहेको प्रहरी बिट, वडा नम्बर २० मा रहेको चिकमंगलमा रहेको प्रहरी बिट, वडा नम्बर २२ मा रहेको न्यूरोड पिपलबोटमा रहेको पिपलबोट, वडा नम्बर २७ असनचोकमा रहेको प्रहरी बिट, वडा नम्बर २९ मा रहेको रुद्रमतीमार्गमा रहेको प्रहरी बिट, वडा नम्बर १८ ताम्सीपाखामा रहेको प्रहरी बिट, वडा नम्बर १७ ढल्कोमा रहेको प्रहरी बिट, वडा नम्बर ६ चुच्चेपाटीमा रहेको प्रहरी बिट, वडा नम्बर ९ सिनामंगल चोकमा रहेको प्रहरी बिट, वडा नम्बर ३२ जडिबुटी चोकमा रहेको प्रहरी बिट र वडा नम्बर २३ सामाखुसी खोलामाथि ढलान गरेको स्थामा प्रहरी बिटलाई हटाउन महानगरका मेयर बालेन शाहले आग्रह गरेका छन् ।
'कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला' मेयर बालेनले भनेका छन् 'नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।'
सडक मिचिएका राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको बालेनले बताएका छन् ।
'फुटपाथ सँधै मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ' बालेनले भनेका छन् 'कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौँ ।'
बालेन शाहले सार्वजनिक गरेका सडक मिचेर बनाइएका काठमाडौँका प्रहरी बिटहरू
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया