बागमती

'अक्सिजनका खाली सिलिण्डर छन्, उद्योग छैनन्'

इकागज |
बैशाख २६, २०७८ आइतबार २०:५ बजे

हेटौंडाः मकवानपुरमा अक्सिजन उत्पादन हुने उद्योग नहुँदा समस्या भएको छ । मकवानपुरमा पर्याप्त अक्सिजन सिलिण्डरहरु भएपनि उत्पादन उद्योग नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् । जिल्लामा अक्सिजन सिलिन्डर अभाव नभएको तर खालि भएका सिलिण्डरमा अक्सिजन भर्नमा समस्या देखिएको उनको भनाइ छ ।

खाली सिलिण्डरमा उद्योगले अक्सिजन भर्न ढिलाई गर्दा समस्या सिर्जना हुन थालेको उनको भनाइ छ । आइतबार पत्रकारसँग कुरा गर्दै प्रजिअ पाण्डेले कोभिड अस्पताल बनाइएको हेटौंडा अस्पतालमा दैनिक ठुलो खालको ९० सिलिन्डर प्रयोगमा आइएरहेको बताए ।


जिल्लामा तीन सय सिलिण्डर अक्सिजन भरेर तयारी अवस्थामा राखिएको छ । जिल्लामा रहेको तीन अक्सिजन सप्लायर्स र विभिन्न उद्योगहरुको सिलिण्डर अहिले १५ सय जति छन् । जिल्लामा ८० प्रतिशत सिलिण्डर औद्योगिक उत्पादनको लागि प्रयोग हुँदै आएको छ भने २० प्रतिशत मात्रै अस्पतालमा प्रयोग भएको छ ।
 
जिल्लामा पुग्ने अक्सिजन सिलिण्डर भएपनि खाली सिलिन्डरमा उद्योगले समयमै नभरीदिँदा समस्या आउन सक्ने उनको भनाइ थियो । जिल्लाबाट खाली सिलिण्डरमा अक्सिजन भर्न चितवन, विरगञ्ज वा अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता छ ।

‘अन्य जिल्लाहरुमा उनीहरुको सिलिन्डर उतै राख्ने गरेको पनि पाइयो’, प्रजिअ पाण्डेले भने । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई शिवम् सिमेन्टले ४२ थान अक्सिजन सिलिण्डर दिएको थियो । त्यसमा अक्सिजन भर्न चितवन पठाउँदा सिलिण्डर नै उतै रोकिएको प्रजिअ पाण्डेको भनाइ छ । 

अक्सिजन भर्ने कारखानामा पठाइएको सिलिण्डर नै उनीहरुको भएकोले उतै रोकियो । विकल्पको लागी हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन ल्याउन प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सहकार्य भइरहेको उनले बताए । 

जिल्लाको हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी गाउँपालिका र मनहरीमा निषेधाज्ञा ३१ बैशाखसम्म जारी छ । निषेधाज्ञा लम्बिने हुँदा बजार व्यवस्थापन, किसानहरुको मर्का, कोभिड रोकथाम गर्न जनचेतना फैलाउने, उपचारलाई व्यवस्थित बनाउन प्रजिअ पाण्डेले आग्रह गरेका छन् ।  
 


Author

थप समाचार
x