बागमती

सचेतनाको सन्देश बोकेर वडाध्यक्ष घरदैलोमा

इकागज |
चैत २७, २०७९ सोमबार १९:१६ बजे

मकवानपुर- सुर्तीजन्य पदार्थको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ । तर, मापदण्डले तोकेबमोजिम निषेधित स्थानमा निषेधित व्यक्तिले किन्ने र बेच्ने गरेका छन् । 

यस्तो गैरकानुनी काम रोक्न जनप्रतिनिधिको भूमिका कस्तो होला ? हेटौंडा उपमहानगरपालिका-४ का वडा अध्यक्ष नवीन सिग्देल यो गैरकानुनी कदम रोक्नका लागि सचेतनाको सन्देश बोकेर घरदैलोमा लागेका छन् । वडाध्यक्षसहितको टोलीले शैक्षिक संस्था रहेको स्थानबाट कम्तीमा एक सय मिटर वरिपरी मध्यपान र धुम्रपान बिक्रीवितरण नगर्न अनुरोध गर्दै घरदैलोमा लागेका हुन् ।


हेटौंडा ४ मा रहेको श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौंडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविको क्षेत्रमा सोमबार सचेतना स्वरूप घरदैलो गरिएको थियो । 

आफ्नो पसलमा वडा अध्यक्ष आफैंले आएर हात जोड्दै मध्यपान र धुम्रपान बिक्री नगर्नु भनेपछि आफूले आगामी दिनमा यस्तो व्यापार नगर्ने व्यापारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष सिग्देलले घरदैलोको क्रममा मध्यपान र धुम्रपान बिक्री वितरणको सवालमात्रै उठाएनन् । बाल श्रम, लैङ्गिक हिंसा, लागूऔषधविरुद्ध समेत जानकारी गराए । यसबारे सचेतनामूलक स्टिकर समेत विभिन्न स्थानमा टाँसिएको थियो ।

विद्यालय क्षेत्र वरिपरि मध्यपान र धुम्रपान मुक्त बनाउनु, विद्यालयलाई शान्ति क्षेत्र बनाउनु र लागूऔषध, लैङ्गिक हिंसा, बालश्रमविरुद्ध अभियान रहेको वडा अध्यक्ष सिग्देलले बताए ।

कार्यक्रममा जनप्रतिनिधिहरू, टोल विकासका प्रतिनिधिहरू, महिला तथा बालबालिका सरोकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटौंडा ४, नेपाल प्रहरी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा वडा सदस्य जग्गनाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, हेटौंडा ४ की अध्यक्ष माया लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा ४ को संयोजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा बालबालिका सरोकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरू सिलवाललगायतको सहभागिता रहेको वडा सचिव टीका कंडेलले बताए । 

हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागू भएको स्थानीय तहका रूपमा घोषणा गर्ने तयारी हुँदैछ । यस्तो अभियानले उक्त लक्ष्यमा समेत टेवा पुग्ने वडा सचिव कंडेलले बताए ।


Author

थप समाचार
x