बागमती

हेटौंडा अस्पतालका सुपरिटेण्डेन्ट श्रेष्ठले दिए राजीनामा

इकागज |
बैशाख २६, २०७८ आइतबार २०:४३ बजे

हेटौंडाः हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले राजीनामा दिएका छन् । उनले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवलाई आफ्नो राजीनामा बुझाएका हुन् । 

सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेलले राजीनामा आएको पुष्टि गर्दै संघबाट नियुक्ती पाएकोले स्वास्थ्य मन्त्रालयमा राजीनामा फरवार्ड गर्ने तयारी भएको जानकारी दिए । 


संघीय सरकार अन्तर्गत हेटौंडा अस्पताल रहे पनि संघले बागमती प्रदेश सरकारलाई अस्पतालको जिम्मेवारी केही समय अघि हस्तान्तरण गरेको थियो । तर प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिएसँगै डा.श्रेष्ठ विवादमा देखिएका थिए । 

उनले हेटौंडा अस्पताल विकास समितिको खातामा भएको रकम प्रतिष्ठान अन्तर्गतको अस्पताल विकास समितिको खातामा झिकेर जम्मा गर्न नसक्ने भन्दै राजिनामा दिएका हुन् । प्रतिष्ठानले उनलाई अस्पताल विकास समितिको रकम झिकेर प्रतिष्ठानकै अस्पताल विकास समितिको खातामा जम्मा गर्न भनेको उनले बताएका छन् । साथै अस्पतालको लोगो परिवर्तन गर्न भन्दा नसक्ने भएकोले उनले राजीनामा दिनुपरेको खुलाएका छन् । 

यसअघि अस्पताल विकास समितिको खातामा मेसु र लेखापालको हस्ताक्षर चल्ने गरेको थियो । तर गएको चैत्र २७ गते अस्पतालको बोर्डले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति, रजिष्ट्रार र लेखापालको हस्ताक्षर चल्ने निर्णय गरेको उनको भनाइ छ ।

प्रतिष्ठानको सोही निर्णयको आधारमा उनीहरुलाई नै झिक्न सुझाव दिएको भन्दै आफुले सो रकम झिक्न नमिल्ने डा. श्रेष्ठले बताए । अहिले अस्पताल विकास समितिको खातामा झण्डै एक करोड र स्वास्थ्य बिमाबाट साढे ४ करोड रुपैयाँ आउन बाँकी छ । 
 


Author

थप समाचार
x