बागमती

आर्थिक वर्ष सकिन तीन महिना बाँकी : बागमतीमा एकीकृत आवास निर्माण कार्य प्रगति शून्य

इकागज |
चैत २८, २०७९ मंगलबार १२:३० बजे

मकवानपुर - चालु आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहँदा बागमती प्रदेशमा संघीय लगानीमा निर्माण हुने भनेको एकीकृत आवास निर्माणको कार्य प्रगति शून्य रहेको छ । चालु आर्थिक वर्षमा तोकिएको लक्षित वर्गको आवास निर्माणको लागि छुट्याइएको पाँच करोड बजेटको खर्च प्रगति लगभग शून्य देखिएको हो । 

संघीय सरकारको विशेष अनुदान तर्फको सार्वजनिक निर्माण अन्तर्गत चेपाङ, वनकरिया, माझी, बोटे, थामीहरूको लागि एकिकृत वस्ती निर्माण गर्न यस आर्थिक वर्षमा पाँच करोड छुट्याइएको थियो । जसमध्ये आर्थिक वर्षको ९ महिना सकिँदासम्म निर्माण हुने आवासहरूको लगत संकलन र विषयगत बैठकभन्दा केही काम भएको छैन ।


लक्षित वर्गको लागि मकवानपुर चितवन र धादिङ जिल्लाका लागि कुल १० करोड बजेटमा आर्थिक वर्ष ०७९/८० को लागि पाँच करोड रकम विनियोजन गरेको थियो । तीन वर्षमा कार्य सम्पन्न गर्नुपर्नेमा योजनाअन्तर्गत पहिलो वर्ष कार्यविधि निर्माण, तथ्याँक संकलन भएको छ । कार्यविधि निर्माण गर्न नै समय लागेको कारण काम ढिलाइ भएको छ ।

ढिलोगरी कार्यविधि बने पनि अझै आवास निर्माणका लागि कार्यक्रम सम्झौतासमेत सकिएको छैन । कार्यक्रमको लागि सम्झौताको तयारी लगायतका कार्य भइरहेको भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर उपसचिव चन्द्रकाजी गुरुङले बताए । उल्लेखित जिल्लाहरूमा बस्तीको लागि लाभग्राही तथा लक्षित वर्गहरू मकवानपुरमा १२० घरधुरी रहेका छन् । यसैगरी चितवनमा ७५ घरधुरी र धादिङमा ५५ घरधुरी रहेको उनले बताए ।

लक्षितवर्गको लागि आवास निर्माणार्थ प्रत्येक घरधुरीका लागि ४ लाख रकम बराबरको लागत अनुमान गरिएको छ । सरकारले घर निर्माण गरिदिने भनेको तर आशामात्रै देखाउँदै आवास निर्माणमा ढिलाइ गरेको मकवानपुर मनहरी नयाँ बस्तीका बोटे समूदायको गुनासो छ ।

'अघिल्लो वर्ष पनि घर बन्ने कुरा थियो, बनेन अहिले पनि कुरै मात्रै हो कि,' स्थानीय संगिता बोटेले भनिन्, 'अब झरीवर्षाको मौसम आउँदासम्म पनि घर नबने हाम्रो बिजोक हुन्छ ।' मनहरीको बोटे समूदायका १५ परिवारको केही वर्षअघि एकीकृत बस्ती निर्माण गरिएको थियो । 

उनीहरूसँगै बस्दै आएका आवास विहीनहरूको लागि आवास निर्माण गर्ने भनिए पनि हालसम्म निर्माण हुन नसक्दा उनीहरू समस्या खेप्दै आएका छन् ।


Author

थप समाचार
x