बागमती

प्रदेश सञ्चार रजिष्ट्रारमा रेवती सापकोटा नियुक्त

जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता

इकागज |
बैशाख ३, २०८० आइतबार २०:१९ बजे

मकवानपुर- बागमती प्रदेश सञ्चार रजिष्ट्रारमा रेवतीप्रसाद सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेश सरकार मातहतको सञ्चार रजिष्ट्रारमा सापकोटा दोस्रो पटक नियुक्त भएका हुन् ।  

चारवर्षे पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत २८ गते प्रदेश सरकारले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सञ्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो । 


सापकोटालाई आइतबार एक कार्यक्रमबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि नियुक्तिको प्रमाणपत्र मन्त्रालयका सचिव ध्रुब गैँडाले सापकोटालाई हस्तान्तरण गरेका थिए । 

चार वर्षअघि सापकोटालाई बागमती प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सञ्चार रजिष्ट्रारका रूपमा पदबहाली गराएका थिए । दोस्रो कार्यकालको लागि नियुक्त भए संगै सापकोटाले ४ वर्षे कार्यकाल उल्लेखनीय भएको बताए । पहिलो पटक रजिष्ट्रारमा नियुक्ति हुँदा प्रदेशमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मात्रै रहेको स्मरण गर्दै सापकोटाले नियमावली बनाएर कार्य गरेकोमा हाल ऐन ३ पटक र नियमावलीमा ४ पटक संशोधन भएको जानकारी दिए । 

कार्यालय,कर्मचारी र सेवाग्राही समेत नभएको अवस्थामा आफूले सुरुमा नियुक्ति लिएकोमा हाल एफ एम रेडियो, केवलमा आधारित टेलिभिजन, अनलाइन सञ्चार माध्यम, परिचयपत्र प्राप्त गर्ने पत्रकार, लेखन वृत्ति प्राप्त गर्ने पत्रकार, तालिम प्राप्त गर्ने पत्रकार तथा प्राविधिकसहित झण्डै १५ सय सेवाग्राही प्रत्यक्ष सञ्चार रजिष्ट्रारको कार्यालयसँग उनले बताए । 

'सञ्चार क्षेत्रबाट राजस्व संकलन हुन्छ भन्ने थाहा नै थिएन, प्रदेश सरकारको क्षेत्राधिकारका फाइल संघीय सरकारमा थिए,' उनले भने ।

चार वर्षका लागि नियुक्ति लिँदै गर्दा शपथ मन्त्रालयको आर्थिक सहयोगमा गरिएको कोभिड बिमामा (९४५ जना) र चालु आर्थिक वर्षको दुर्घटना बिमामा (१५८४ जना) पत्रकार बागमती प्रदेशसँग जोडिएका छन् । सेवाग्राहीलाई सेवा दिने, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने काम हेटौंडा र काठमाडौँ उपत्यका कार्यालयबाट भइरहेको समेत सापकोटाले जानकारी दिए । 

प्रदेश सरकारका लागि वार्षिक एक करोडभन्दा बढी राजस्व संकलन गर्ने तथा एफ, एम रेडियो, केवलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्यालयका रूपमा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय स्थापित भएको समेत उनले बताए । 

आगामी चार वर्षे कार्यकालमा अघिल्लो अवधिमा भएका कामलाई थप संस्थागत गर्ने, संघीय सरकारबाट फाइल हस्तान्तरण गर्न प्रशासनिक पहल गर्ने, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ ले दिएका थप जिम्मेवारीको अधिकतम बहन काम गर्ने र प्रदेश सरकारले दिएका अन्य जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत सापकोटाले व्यक्त गरेका छन् ।


Author

थप समाचार
x