बागमती

२० वर्ष पुराना सवारी हटाउने योजना कार्यान्वयन भएन

इकागज |
बैशाख १०, २०८० आइतबार ९:५८ बजे

मकवानपुर - २० वर्षे म्याद कटे पनि त्यसको सट्टा भर्नामा विद्युतीय ट्याक्सी ल्याउने बागमती प्रदेश सरकारको निर्णय अलपत्र परेको छ । एकातिर ग्यास माइक्रो र ट्याम्पुको २० वर्षे म्याद सकिइसकेको तर नयाँ सट्टा भर्ना हुने विद्युतीय सवारी साधन आइपुगेका छैन भने अर्कोतर्फ ट्याक्सी चालकहरूको असन्तुष्टि कायमै छ । यसकारण प्रदेश सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

ट्याक्सी चालकको असन्तुष्टिपछि ग्यास ट्याम्पु र माइक्रोलाई विद्युतीय ट्याक्सीमा सट्टा भर्ना गर्ने काम थाती रहेको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंले बताए । ‘कार्यविधि जारी भइसकेको छ, ट्याक्सी व्यवसायीहरूको विरोधपछि रोकियो, हामीले यो समस्याको बारेमा मुख्यमन्त्री कार्यालयमा जानकारी गराइसकेका छौ,' चौलागाईंले भने, 'संभवतस् यसको समाधान छिटै आउला ।'


वर्गविपरीतका सवारीसाधनलाई ट्याक्सीमा सट्टा भर्ना नगरे हुन्थ्यो भन्ने मनसाय मात्र भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ । समाजका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पुरानो ट्याक्सीको सट्टा भर्ना दिएपछि ट्याम्पो र माइक्रोलाई पनि सट्टा भर्ना दिन समाजले सरकारसंग माग गरेको छ ।

जुन वर्गको सवारी साधन हटाइन्छ, त्यसैमा सट्टा भर्ना गरियोस् भन्नेम माग समाजको रहेको छ । प्रदेश सरकारले वि स २०८५ सालभित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीय साधनले विस्थापित गर्ने लक्ष बमोजिम पाइलट प्रोजेक्टको रूपमा २० वर्ष कटेका ट्याक्सी, नीलो माइक्रो र ग्यास टेम्पोलाई विद्युतीय ट्याक्सीमा सट्टा भर्ना गर्ने निर्णय भयो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले ‘सार्वजनिक यात्रुवाहक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७८’ बनाई उपत्यकामा रहेका ग्यासबाट चल्ने सवारीसाधनलाई पनि विद्युतीय ट्याक्सीमा सट्टाभर्ना गर्ने निर्देशिका जारी गर्‍यो ।

विद्युतीय ट्याक्सीको स्पेसिफिकेसन

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सट्टा भर्ना हुने ट्याक्सीलाई साधारण र विशेष प्रकृतिका गरी दुई प्रकारमा स्पेसिफिकेसन गरेको छ ।

साधारण ट्याक्सीमा ५ सिट क्षमता, अटोमेटिक ट्रान्समिसन, कम्तीमा २ सय लिटरको बुट स्पेस भएको, ३० वा सोभन्दा धेरै किलोवाटको मोटर, २० किलोवाट वा सोभन्दा धेरै क्षमताको लिथियम आयोन ब्याट्री, सेडान बडी टाइप, कम्तीमा १७० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, कम्तीमा २१० किलोमिटर रेन्ज, एयर ब्याग, जीपीएस सिस्टम, एबीएस, सेन्ट्रल लकिङ र रेयर भ्यु क्यामरा अनिवार्य हुनुपर्ने छ ।

त्यसैगरी, विशेष प्रकृतिका ट्याक्सीमा ५ देखि ७ सिट क्षमता, अटोमेटिक ट्रान्समिसन, कम्तीमा २५० लिटर बुट स्पेस, कम्तीमा ५० किलोवाटको मोटर, कम्तीमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री, सेडान वा भ्यान बडी टाइप, कम्तीमा १७५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स, डुअल एयर ब्याग, जीपीएस सिस्टम, कम्तीमा २७५ किलोमिटर रेन्ज, हिल असिस्ट, एबीएस र ईबीडी, सेन्ट्रल लकिङ, पार्किङ सेन्सर, रेयर भ्यु क्यामरा, एसी र साउन्ड सिस्टम हुनुपर्नेछ ।

विद्युतीय सवारी वातावरण मैत्री हुनुका साथै आयातीत पेट्रोलको आर्थिक भार कम गर्न समेत प्रभावकारी हुने सरकारको ठम्याइ छ । 


Author

थप समाचार
x