बागमती

यस्तो वडाध्यक्ष जो आफ्नो पारिश्रमिक विपन्नको स्वास्थ्य बीमामा खर्च गर्छन्

इकागज |
बैशाख १८, २०८० सोमबार ९:३६ बजे

फाइल फोटो

चितवन - चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो  भत्ता रकम विपन्न परिवारको बीमा वापतमा लगाएका छन् । उनले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत लिएका छैनन् । 

उनले भने, 'मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।'


यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उनले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताए । वडाध्यक्ष उप्रेतीले भने, “हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौँ, ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।”

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन् । साथै उनले शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् ।

आफूले आगामी दिनमा पनि वडाध्यक्षबापत पाउने सेवा सुविधा नलिने बताए । 'मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन', वडाध्यक्ष उप्रेतीले भने । रासस


Author

थप समाचार
x