बागमती

अधुरो प्रदेश सरकार, कांग्रेसले अझै टुंग्याएन मन्त्री बन्नेको नाम

इकागज |
बैशाख १८, २०८० सोमबार ९:५५ बजे

फाइल फोटो

मकवानपुर - नेपाली कांग्रेसले निर्णय नगर्दा बागमती प्रदेश सरकार एक महिनादेखि अधुरो छ ।

काँग्रेसले आफूभित्रको द्वन्द्व मिलाउन नसक्दा सरकारमा सहभागीको लागि व्यक्ति टुङ्ग्याउन सकेको छैन । जसको कारण प्रदेश सरकार एक महिनादेखि अधुरो छ ।


काँग्रेस बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नामावली दलले पठाउन सकेको छैन । नयाँ बजेटको तयारी गर्नुपर्ने बेला सरकार विस्तार अनिश्चित भएपछि समस्या रहेको बताइएको छ ।

बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ ।

सरकारले पूर्णता नपाउनुमा काँग्रेसभित्रको कलहलाई प्रमुख समस्याको रूपमा गठबन्धन दलकै संसदहरूले लिएका छन् । काँग्रेसले गठबन्धनमा भागबन्डा लागे अनुसार मन्त्रीहरूका नाम नदिँदा पाँच वटा मन्त्रालय मन्त्री विहीन छन् ।

सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएको एक महिना कटिसकेको छ । निर्वाचनकै बेलाको गठबन्धन ब्यूँतिएपछि १० चैतमा विश्वासको मत लिएर सरकारमै टिकिराखेका जम्मकट्टेलले एक महिना बढी भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेका हुन् ।

मन्त्रिपरिषद अपूर्ण हुनुमा जम्मकट्टेलले भन्दा पनि काँग्रेस मुख्य कारण बनेको पछिल्ला राजनीतिक घटनाक्रमले देखाएको छ ।

सरकारमा जाने मन्त्रीहरूको टुङ्गो काँग्रेसले लगाउन नसक्दा सरकारले पूर्णता पाउन नसकेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।

श्रेष्ठले काँग्रेसले मन्त्रीहरूको नाम दिएको एक घण्टामा मन्त्रिपरिषद विस्तार गर्न तयार रहेको बताए । सरकार विस्तार नहुनुमा सरकारको कमजोरी नरहेको श्रेष्ठले बताए । 'काँग्रेसले मन्त्रीहरूको नाम पठाएपछि तुरुन्तै मन्त्रिपरिषद्‌ बिस्तार हुन्छ' श्रेष्ठले भने ।

नयाँ बजेट बनाउनुपर्ने र कमजोर विकास खर्चलाई उकास्नुपर्ने समयमा सरकारलाई अनिश्चित बनाउँदै आइरहेको गठबन्धनकै ठूलो दल काँग्रेस भने जवाफदेहिताबाट भाग्दै आइरहेको छ ।

काँग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा पत्रकारहरूसँग तर्किएर हिँडिरहेका छन् ।

मुख्यत नेपाली कांग्रेस भित्र इन्द्र बहादुर बानियाँ र बहादुर लामा बीचको मत नमिल्दा मन्त्रीमा पठाउने नामको अन्तिम टुङ्गो नलागेको हो । काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारमा पार्टीको भूमिकाबारे लामासँग कुरा गर्न आग्रह गरे ।

पार्टीको जिम्मेवार पदमै रहेका दलका नेतादेखि सचेतकसम्म जवाफदेहिताबाट भागिरहेपछि काँग्रेसका संसदहरू पनि बोल्न चाहिरहेका छैनन् । काँग्रेसभित्र सरकारमा सहभागी हुने विषयलाई लिएर चर्को विवाद निम्तिएको छ ।

गठबन्धन दलबीच मन्त्रालय भागबन्डा लागेको भन्दा बढी काँग्रेसबाट मन्त्रीको आकांक्षी देखिएपछि लामाले विवाद समाधान गर्न नसकेको कांग्रेसका सांसदहरूको आरोप छ । नेता लामाले विवाद मिलाउन नसकेपछि सांसद तीर्थ लामालाई लिएर सरकारमा सहभागी भइसकेका छन् ।

मन्त्रीको लागि आकांक्षीहरूको टुङ्गो नलगाई लामाद्वय झण्डावाल गाडीमा हुइँकिन थालेपछि थप विवाद सिर्जना भएको छ ।

हाल सरकारमा काँग्रेसबाट लामाद्वय मात्रै छन् । पार्टीभित्र आकांक्षीहरूको व्यवस्थापन गर्न नसकेपछि उनै लामा २६ चैतमा सरकारको अर्थमन्त्री बनिसके । उनले तीर्थ लामालाई पनि आफूसँगै खानेपानी, ऊर्जा र सिँचाइ मन्त्री बनाएका हुन् । ६ वटा मन्त्रालयमा गठबन्धनमा सहमति पनि हुन नसक्नु र पार्टीभित्रकै विवाद मिलाउन नसक्दा लामालाई चुनौती थपिएको छ । मुख्यमन्त्री जम्मकट्टेल काँग्रेसलाई कुर्दै बसेका छन् । गठबन्धनको ठूलो दल काँग्रेसले ६ वटा मन्त्रालयमा अडान राख्दै आएको थियो । काँग्रेसको अडानमा मुख्यमन्त्री सकारात्मक नभएपछि भागबन्डा पनि टुङ्गिन सकेको छैन ।

भागबन्डा नटुंगिँदा गठबन्धनकै नेकपा एकीकृत समाजवादी पनि सरकारमा गएको छैन । नेकपा एसका नेता निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मासमेत सरकारसँग सन्तुष्ट छैनन् । ११ सदस्यीय मन्त्रिपरिषद्‌मा ६ जना मात्रै मन्त्रीहरू छन् । जसमध्ये मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय माओवादीका र दुई वटा मन्त्रालय नेपाली काँग्रेसले सम्हाल्दै आइरहेको छ । बाँकी पाँच वटा मन्त्रालयमा भागबन्डा नमिल्दा सरकार विस्तार अनिश्चित बन्दै गइरहेको हो ।

केन्द्रको राजनीतिक सत्ता गठबन्धनअनुसार बागमतीमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गरी तीन दलको नेतृत्वको सरकार छ । अघिल्लो गठबन्धनमा पनि राप्रपा, एमाले र माओवादी मिलेर सरकार बनाउँदा त्यति चुनौती खेप्न नपरेका मुख्यमन्त्रीलाई काँग्रेस नेतृत्वको गठबन्धनले भने सकसमा पारेको छ ।

गठबन्धन सरकारमा मन्त्रिपरिषद विस्तार गर्न जोसुकै सरकार प्रमुखलाई पनि समस्या देखिने गर्छ । बागमतीका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनमा भागबन्डा मिलाउन आठवटा मन्त्रालयलाई १४ वटासम्म बनाएका थिए । तर, जम्मकट्टेलले ११ वटा मन्त्रालय बनाए । तर मन्त्रालय घटाएको सवालमा समेत काँग्रेस खुसी नभएको बुझिएको छ ।

प्रदेश सरकारको रिक्त मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुनेछन् । बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत छ ।
 


Author

थप समाचार
x