बागमती

पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिन्छु : प्रदेश मन्त्री श्रेष्ठ

इकागज |
बैशाख २०, २०८० बुधबार २१:५५ बजे

मकवानपुर- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिने आश्वासन दिएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिदै पत्रकारिताको गुणस्तरीय विकासमा बागमती प्रदेशले आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् ।


उनले भने, 'गुणस्तरीय पत्रकारिताको विकासमा तपाईंहरूले पनि आ आफ्नो ठाउँबाट योगदान गर्नु हुने अपेक्षा राख्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आवाजविहीनहरूको आवाज उठाइरहने प्रेरणा तपाईंहरूलाई पनि मिलिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'

‘भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले बुधबार प्रेस स्वतन्त्रता दिवस मनाइएको छ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९३ मा घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ । यस अवसरमा बागमती प्रदेश सरकारका तर्फबाट मन्त्री श्रेष्ठले बागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

यस अवसरमा नेपालको संविधान २०७२ को मर्म र भावना अनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य अनुरूप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेको उनले बताए ।

'१०४ वर्षे राणा शासन, तीस वर्षीय निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका तपाईं हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैसँग बुझेका छौँ,' उनले भने ।

बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहेको तर नियन्त्रण गर्ने ध्येय नभएको उनले बताए ।

नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिस्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हित प्रवर्द्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेको दाबि उनले गरे ।


Author

थप समाचार
x