बागमती

सार्वजनिक भवन र वेबसाईट अपाङ्गमैत्री बनाउन माग

इकागज |
जेठ ३, २०८० बुधबार १६:२० बजे

मकवानपुर । बागमती प्रदेशको सबै मन्त्रालय तथा सरकारी कार्यालयका भवन, शौचालय, सूचना पाटी, पार्किङ स्थल र वेबसाईट अपाङ्गमैत्री बनाउन माग गरिएको छ।

राष्ट्रिय अपाङ्गता महासंघ बागमती प्रदेशले अपाङ्गको सवाल आगामी बजेट र नीतिमा समावेश गर्न २६ बुँदे माग गरिएको हो ।


विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अपाङ्गता भएका व्यक्तिको लागि आवश्यक पर्ने सहायक सामग्रीहरु बैशाखी, वाकर, ह्विललचेयर, ट्राइसाइकल, बेल्टसिटिङ चैयर स्थानिय स्वास्थ्य संस्थाबाट निःशुल्क र सहज रुपमा पाउने वातावरणको लागि कार्यक्रम तथा बजेटको व्यवस्था गर्न माग गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ- नेपाल, बागमती प्रदेश कार्यालय, हेटौंडाले प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र स्वास्थ सचिव बद्रीबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएको महासंघका प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए ।

अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनकाे लक्षित वर्गलाई लाभ पुग्ने गरि बजेट तथा नीति र कार्यक्रमले सम्बोधन गर्न माग गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले स्थापनाकालदेखि नै अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित गर्न समन्वय, सहकार्य, क्षमता विकास र सशक्तिकरणको सवाललाई अनवरत रुपमा उठान गर्न क्रियाशील रहेको महासंघका प्रदेश अध्यक्ष लम्सालले बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले समग्र अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्ये नजर गरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रमको तर्जुमा गरिरहेको सन्दर्भमा प्रदेश स्तरका नीति निर्माण तथा कार्यान्वयन, अनुगमन, मुल्याङ्कन, अपाङ्गता भएका व्यक्तिका सवालको समावेशीकरण र अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि यो माग गरेको हो । महासंघले स्वस्थ्य मन्त्रालयका सचिब सचिव बद्री बहादुर खड्कालाई पनि पत्र बुझाएको छ।


Author

थप समाचार
x