बागमती

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट

इकागज |
जेठ ७, २०८० आइतबार ८:५३ बजे

मकवानपुर‍- बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश खेलकुद प्रतियोगिता आज आइतबारबाट सुरु हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु हुने प्रतियोगिता १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सुरु हुने प्रतियोगिता आइतबार साँझ प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नेछन् ।


उद्घाटनको दिन आइतबार भने कुनै खेल सञ्चालन हुने छैन । उद्घाटनका दिन साँझ राष्ट्रिय कलाकार, झाँकी र आर्मी–प्रहरीको प्रस्तुति रहने जनाइएको छ । 

प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीहरुको सहभागिता रहनेछ । 

१३ खेलमध्ये मकवानपुरमा ९ खेल, चितवन र ललितपुरमा एक/एक र काठमाडौंमा २ खेल खेलाइने जनाइएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबार सम्पन्न हुने जनाइएको छ ।

यसैबीच बागमती प्रदेश खेलकुद प्रतियोगितामा लोपउन्मुख सालकलाई मस्कटको रुपमा प्रयोग गरिएको छ । मकवानपुरको शानको रुपमा मान्ने गरिएको सालकलाई मस्कटको रुपमा प्रयोग गरिएको हो ।

‘किसानको साथी’ को रुपमा हेर्ने गरिएको सालक संरक्षणको पहल स्वरुप मस्कटको रुपमा प्रयोग गरिएको बागमती प्रदेश खेलकुद परिषद्‌ कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x