बागमती

बागमतीमा मन्त्रालय संख्या बढाउन कांग्रेसको दबाब, फुटाएरै भएपनि ६ मन्त्रालय चाहिने अडान

इकागज |
जेठ ७, २०८० आइतबार १३:४ बजे

काठमाडौँ- बागमती प्रदेश मन्त्रालयको संख्या बढाउन सत्तारुढ नेपाली कांग्रेसले दवाब दिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटेर मन्त्रालय संख्या बढाएर भएपनि कांग्रेसलाई ६ वटा मन्त्रालय दिन दवाब दिएको हो ।

आइतबार बिहान मुख्यमन्त्री जम्कट्टेलसँग भेटेर मन्त्रालय फुटाएर पनि कांग्रेसलाई ६ वटा मन्त्रालय दिन दवाब दिएको बैठकमा सहभागी एक नेताले बताए । तर बागमतीको नेतृत्व सम्हालेका माओवादीले मन्त्रालय संख्या बढाउन नहुने अडान राखेका छन् ।


हाल बागमती प्रदेशमा ११ वटा मन्त्रालय रहेको छ । जसमध्ये एउटा मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाउन कांग्रेसले माग गरेको हो ।

सुरुमा कांग्रेसलाई ५ वटा मन्त्रालय दिने सहमति भएको बागमती प्रदेशका प्रदेशसभा सदस्यसमेत रहेका माओवादी एक नेताले इकागजलाई बताए । उनकाअनुसार यो आर्थिक मन्दी भएको बेलामा मन्त्रालय संख्या थप्न नहुने ती नेताले बताए । 'एकातिर मन्दी छ भने अर्कोतिर सरकार सुशासनमा केन्द्रीत हुनुपर्ने बेलामा कांग्रेसले मन्त्रालय संख्या थप गर्न दवाब दिन हुँदैन्' उनले भने ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बोलाएर छलफल गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बालुवाटार बैठकमा प्रचण्डले लामा र खनाललाई मिलेर जान सुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि इकागजसँग कुरा गर्दै कानुनमन्त्री खनालले एकीकृत समाजवादीले २ र काँग्रेसले थप ३ वटा मन्त्रालय पाउने पक्का भएको बताएका थिए । तर अहिले कांग्रेसले मन्त्रालय फुटाएरै भएपनि ६ वटा मन्त्रालय चाहिने दवाबपछि आज सरकार विस्तार गर्ने भनिए पनि आन्तरिक छलफलमै मुख्यमन्त्री जम्कट्टेल रहेका छन् ।

यसअघि नेपाली कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले दुई वटा मन्त्रालय नलिई नछोड्ने अडानका कारण करिब दुई महिनादेखि सरकार पूर्ण हुन सकेको थिएन । मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार कांग्रेसलाई पाँच वटा र एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालय भागमा पर्ने गरी भागबण्डा लगाइदिएपछि विवाद आपसी तिक्तता अझै बढेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले लगाएको भागबण्डाले चित्त नबुझेपछि एकीकृत समाजवादीले सरकार छोड्नेसम्मको चेतावनी दिएको थियो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।


Author

थप समाचार
x