बागमती

बागमती प्रदेश सभाकाे बैठक शून्य समय मात्र सञ्चालन भएर स्थगित

इकागज |
जेठ ९, २०८० मंगलबार २०:२८ बजे

मकवानपुर- बागमती प्रदेश सभाकाे मंगलबारकाे बैठक शून्य समय मात्र संचालन भएर स्थगित भएकाे छ । विशेष समय नरहेकाे मंगलबारकाे प्रदेश सभा बैठक विशेष समयमा प्रवेश नै नगरी बुधबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबारकाे प्रदेश सभा बैठकमा सभामुख सानु कुमार पाठकले प्रदेश प्रमुखकाे कार्यालयबाट प्राप्त विधेयक फिर्ता र सन्देशको पत्र तथा प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस लगतै सभामुख पाठकले बैठकमा विशेष समय नरहेको जानकारी गराउँदै शून्य समयको प्रारम्भ गरेका थिए । संसदमा शून्य समयलाई सांसदहरूले देशकाे जल्दाेबल्दाे समस्याका बारेमा आफ्नाे धारणा राख्ने गर्दछन् ।


मंगलबारकाे प्रदेश सभाकाे शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले राष्ट्रिय सरोकारको साथै बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई समय मै सरकारको तर्फबाट निगरानी र उद्धार कार्यका लागि सजगता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले, नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदनप्रसाद पौडेल, राप्रसा संसदीय दलका नेता उद्धब थापा, बागमती प्रदेश नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्र राज बज्राचार्य लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेश सरकारले जनताका लागि पूर्वाधार विकास, आर्थिक समृद्धिलाई अग्रसर तुल्याउन जनमुखी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए । उनीहरूले प्रदेशको सबै जिल्लाहरूलाई सदरमुकामसम्म जोड्ने सडक सञ्जाल, खानेपानी, विद्युतको विस्तार र स्वास्थ्य उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेटलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

उनीहरूले प्रदेशमा सुशासन ल्याउन र बढ्दै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि सबै राजनीतिक दलहरूमा दलगत स्वार्थ त्यागेर कठोर कलम चाल्न आग्रह गरे । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जुनसुकै दलका नेता भए पनि कानुनी कठघरामा उभिनु पर्ने बताउँदै सांसदहरूले त्यस्ता व्यक्तिहरूलाई राजनीतिक दलका उच्च नेताहरूले संरक्षण दिन नहुनेतर्फ सबैले आत्मसमीक्षा गर्नुपर्ने समय आएको स्पष्ट पारेका थिए ।

प्रदेश सरकारले प्रदेशको सबै जिल्लामा सुशासनलाई कार्यान्वयन गर्न र जनतालाई आधारभूत रूपमा विकासको पूर्वाधार, प्रत्यक्ष रोजगारीको अवसर, उच्च शिक्षा र गुणस्तरीय शिक्षालाई प्रभावकारी रूपमा परिचालन गर्ने गरी बजेट ल्याउनुपर्ने उनीहरूले माग गरे ।

यस्तै, बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले प्रदेश सरकारको तर्फबाट विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमूलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।

उनले प्रदेशका विपन्न नागरिकहरूलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनका लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरूलाई उद्योग सञ्चालनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए । उक्त बैठकमा उनले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरे । उक्त विधेयकमाथि अर्काे बैठकमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

सभाकाे शून्य समयमा सभाका सदस्यहरूले धारणापछि प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक जेष्ठ १० गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएका थिए ।
 


Author

थप समाचार
x