बागमती

मगले भरेर पानी भाग लगाउने समयको विश्राम

इकागज |
जेठ १०, २०८० बुधबार ८:३२ बजे

मकवानपुर- 'एकाबिहानै कुवामा पानीको लागि लाम लाग्‍न पुगिएन भने  दिनभर घरमा ‘थोप्पो’ पानी हुँदैनथ्यो' मकवानपुर जिल्ला थाहागरपालिकाकी सान्नानी कार्कीले भनिन् 'पाहुना आउँदा पानी पुर्‍याउन धौ धौ थियो ।'

यो उनको बिगत हो, अब त्यो बिगत जस्तो छैन दैनिकी ।  रातभरी कुवामा जम्मा भएको पानी विहान भेला भएका महिलाहरू मग (पानी उभाउने भाँडो) ले भाग लगाउँथे । कस्ले कति मग पानी उभाउन पाउने भनेर । कसैको घरमा पाहुना आएको भए एक वा दुई मग थपिदिन्थे छिमेकीको मायाले । नत्र सामन्यत: परिवार संख्या अनुसार पानीको बाँडफाँड हुन्थ्यो ।


वर्षौसम्म खानेपानीको अभाव खेपेका मकवानपुर थाहा नगरपालिका टिष्टुङ कुवापानीले धेरै पुस्ता फेर्‍यो । गाउँको नामै कुवापानी । गाउँमा प्रतिनिधि निर्वाचित भएर आएपछि खानेपानी घरघरमा पुर्‍याउने योजना बन्यो । घरघरमा पानीको धारा पाउने योजना सुनेरै उपभोक्ता उत्साहित भए ।

कुवापनीसँगै थाहा नगरपालिका-११ टिष्टुङकै कालोपानी ठाडोखोलामा पनि घरैपिच्छे शुद्ध खानेपानीसहित धारा पुर्‍याउने योजना थपियो । अहिले भने  कुवापानीले मुहार फेरेको छ । अब मगले पानी भाग लगाउने दिनको अन्त्य भएको छ ।

निरन्तरको प्रयासपछि कुवापनी गाउँका २८ वटै घरमा धारा जडान भएको छ । धारामा नियमित पानी आउँछ, कुवापानीकी निरा घिसिङले भनिन् । ‘खानेपानी बोक्न जाँदा बालबालिकालाई समयमै खाना बनाउन नभ्याएर कति पटक गाउँलेहरूले स्कूलसम्म पठाउन भ्याउँदैन थिए’ निराले पुराना दिन सम्झिँइन् ।

खानेपानी लिनकै लागि कुवापानीवासीलाई डेढ घण्टा धाउन पर्थ्यो । थाहा नगरपालिका-११ का वडाध्यक्ष दिनेश तामाङले भने– ‘अन्नको भन्दा नि दुःख पानीको थियो, अहिले दुःख तोडियो नागरिकहरू खुसी छन् ।’ विकासका कामसँगै घरघरमा धारा पुर्‍याउँदा निकै खुशी लागेको वडाध्यक्ष तामाङले बताए । ‘नागरिकको लागि काम गर्ने हामी प्रतिनिधिलाई नागरिकको आवश्यकता पूरा गर्न पाउँदा खुसी लाग्ने रहेछ ।'

विद्युतको सहायताले मुहानदेखि २२ सय मिटरमाथि लिफ्टिङ गरी वस्तीभन्दा माथि निर्माण गरिएको पानी ट्याङ्कीबाट अहिले कुवापानीवासीलाई खानेपानी वितरण भइरहेको छ ।

खानेपानी आयोजनाका लागि स्थानीय सरकारको मात्र लगानीले पुगेन । यसका लागि उपभोक्ताहरू कम्मर कसेर लागे । खानेपानीको अभाव टार्न २८ परिवारले ५३ लाख जुटाए । उनीहरू महिनौसम्म श्रमदानमा जुटेर यति धेरै लगानी गरेका हुन् ।

गाउँका लागि आएको योजनामा श्रमदान गर्दा योजनाप्रति अपनत्व हुने र दीगो पनि हुने वडाध्यक्ष तामाङले सुनाए । कुवापानी खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाले २० लाख, गैरसरकारी संस्था च्वाइस नेपालले २५ लाख लगानी गरेका छन् । बाँकी श्रमदानबाटै योजना निर्माण भएको हो ।

‘आयोजनाको लागि अझै ८५ हजारजति अपुग छ’ वडाध्यक्ष तामाङले भने । उनले नपुग रकमको लागि स्रोत जुटाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । यस योजनामा ६/६ हजारको दुईवटा र एउटा १० हजार लिटरको गरी तीन वटा खानेपानी ट्याङ्की रहेका छन् ।

कुवापानीवासीका जस्तै खानेपानीका लागि अभाव झेलिरहेका थाहा नगरपालिका-११ टिष्टुङकै फलाँटे, भट्टीडाँडा, तल्लो देउराली, माथ्लो देउरालीलगायतका क्षेत्रका बासिन्दाहरूको पनि घरघरमा खानेपानी धारा जडान भएको छ ।

यी दुवै आयोजना हालै उद्घाटन भएको छ । स्वच्छ पानी पिउने अधिकारको सम्मान गर्न खोजेको थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले बताए ।

'खानेपानी आयोजनामा टिष्टुङका उपभोक्ताको लगाव र लगानी उदाहरणीय छ, श्रमदानमा भएको उत्साह अतुलनीय छ’, नगर प्रमुख विष्टले भने । थाहा नगरपालिकाको विभिन्न किसिमका विकास र आयआर्जनको क्षेत्रमा समेत साझेदारी गर्दै आएको च्वाइस नेपालको लगानी थाहानगरका लागि सहयोगी सावित भएको नगर प्रमुख विष्टले बताए ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने योजनामा गाउँपालिका साझेदार बन्ने विष्टको भनाइ थियो । १ सय ६७ घरमा पानी पुर्‍याइएको यस योजनामा मुख्य ५० हजार लिटरसहितको ३ वटा पानी ट्याङ्की रहेको छ । टिष्टुङको यस योजनामा ‘एक घर, एक धारा’ अभियानलाई कार्यान्वयनमा ल्याइएको छ ।

कालोपानी ठाडोखोला खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाको ४५ लाख लगानी छ । उक्त योजनाका लागि गैरसरकारी संस्था च्वाइस नेपालले ८० लाख र स्थानीय उपभोक्ताले ५६ लाख बराबरको श्रमदान जुटाएका छन् । कुल १ करोड ८१ लाख कुल लागत रहेको योजनाको काम सकिएको छ । उपभोक्ताहरूले प्रतिवद्धताको साथ काम गरेकोले योजना सम्पन्न भइ घरघरमा धारा पुर्‍याउन सफल भएको वडा कार्यालयले जनाएको छ ।

यस आयोजनामा उपभोक्ताहरूले कार्यालय भवनसमेत बनाएका छन् । उनीहरूले खानेपानी सेवालाई व्यवस्थित गर्न इस्टिमेटबाहेकको श्रमदान गरी भुईंतले कार्यालय भवन निर्माण गरेका हुन् । भवनको लागत करिब २० लाख रहेको छ । खानेपानी आयोजना सम्पन्न भई घरघरमा पानी थाप्न पाएपछि स्थानीय ठूली स्याङ्तानले खुसी व्यक्त गरिन् ।

‘टाढाबाट बोकेर पानी खाइन्थ्यो, अब घरमै धारामा थापेर खाइन्छ’ स्याङ्तानले हर्षित हुँदै भनिन् ।  उनले यस आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

थाहानगरको ११ नम्बर वडामा निर्माण सकिएको दुवै खानेपानी आयोजना शुल्कमा आधारित बनाई यसको दीगोपना दिइने वडाध्यक्ष दिनेश तामाङले बताए । योजनाको ३० वैशाखमा सार्वजनिक सुनुवाई गरी आम नागरिकलाई हिसाबकिताब सार्वजनिक गरिएको र ३ जेठमा आयोजनाको उद्घाटन गरिएको हो ।

केही समय परीक्षणका रुपमा खानेपानी वितरणसँगै आम उपभोक्ता भेला आयोजना गरिने वडाध्यक्ष तामाङले बताए । भेलाले महशुल दर तोक्ने, आयोजना निरन्तर सञ्‍चालन गर्नेलगायतका विषयमा कार्ययोजना निर्माण गरी अघि बढ्ने उनको भनाइ छ । यसका लागि उपभोक्ता, थाहा नगरपालिका र सहयोगी संस्था च्वाइस नेपालको अभिभावकत्व सँधै आवश्यक रहने तामाङले बताए ।


Author

थप समाचार
x