बागमती

बागमतीलाई कृषिमा अब्बल बनाउन सांसदहरूकाे सुझाव

इकागज |
जेठ ११, २०८० बिहीबार ७:१४ बजे

मकवानपुर । बागमती प्रदेशका सांसदहरूले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफूल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर तुल्याउन दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्ने बजेट निर्माण गर्नुपर्नेमा जोड दिए ।

​बागमती प्रदेश सभाको बुधबारकाे बैठकमा विनियोजित विधेयक माथि छलफलमा यस्ताे विषय उठेकाे हाे ।  बुधबार बसेकाे दोस्राे अधिवेशनकाे दोस्राे वैठकमा विनियोजित विधेयक २०८०/०८१ को सिद्धान्त र प्राथमिकतामा दफाबारे छलफल भएकाे हाे ।


उनीहरूले ग्रामीण बस्तीमा विद्युतीकरण, खानेपानी, कृषि सडक, स्वास्थ्य चौकीको निर्माण गर्न र शैक्षिक गुणस्तरीय दक्ष जनशक्ति उपलब्ध गराउने, सुकुम्बासी र अवस्थित बसोवासीहरूलाई लालपुर्जा, रोजगारीको अवसर र विपन्न कृषकहरूलाई अनुदान, पशुपालन, कृषि उत्पादनको लागि ऋण उपलब्ध गराउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने बताए । यस्तै प्रदेशको १३ जिल्लाको ११९ वटै स्थानीय निकायलाई अझ प्रभावकारी ढंगबाट परिचालन गरी सर्वसाधारणहरूलाई सेवा सुविधा सहज ढंगबाट उपलब्ध गराउनेखालको बजेट निर्माण गर्न सुझाव दिएका छन् ।

बुधबारकाे बैठका शुन्य समय नरहेकाे जानकारी दिदै सभामुख सानु कुमार पाठकले विशेष समयकाे प्रारम्भ भएकाे घाेषणा गरि विनियोजित विधेयक २०८०।०८१ को सिद्धान्त र प्राथमिकतामा दफाबार छलफल भएकाे जानकारी गराएका थिए । उक्त विधेयक मंगलबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले प्रदेश सरकारको तर्फबाट दफावार छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका थिए ।

बैठकमा विनियोजित विधेयक माथि कृष्णप्रसाद सिलवाल, तारानाथ श्रेष्ठ, मायादेवी शर्मा, आनन्द मोहन श्रेष्ठ, कुमारी तामाङ, डा. दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, रामप्रसाद ढुंगानालगायतका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यस्तै सभामुख पाठकले विशेष समय सकिएकाे घाेषणा गर्दै कार्य व्यवस्था परामर्श समितिका सदस्य प्रदेश सांसद रामकृष्ण चित्रकार मन्त्री नियुक्ति भएकाले उनकाे ठाउँमा श्रीराम लामिछानेलाई र कुमारी तामाङ र गिरी बहादुर तामाङलाई कार्य व्यवस्था परामर्श समितिकाे सदस्यमा मनाेनयन गरेका थिए । पाठकले कार्य व्यवस्था परामर्श समितिमा भएकाे हेरफेर तथा नयाँ सदस्य मनोनयनमा सहमति जनाउन अनुराेध गरेका थिए । उक्त मनोनयनमा संसदले सहमति जनाएका थिए ।

प्रदेश सभाको अर्को बैठक जेष्ठ ११ गते बिहीबार बिहान ८ बजे बस्ने गरी बुधबारकाे बैठक स्थगीत भएकाे प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँले जानकारी दिइन् । विहीबारकाे बैठकमा विनियोजित विधेयक २०८०/०८१ को सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा कर प्रस्ताव बाहेकका बाँकी विषयमा छलफल हुने चापागाई‌ले संसदमा जानकारी गराइन् ।


Author

थप समाचार
x