बागमती

वैज्ञानिक खोजमा प्रगति गर्दै बागमती प्रदेश

चार युवाले बनाए २० वर्ष पुराना गाडीलाई नयाँ विद्युतीय सवारी

इकागज |
जेठ २७, २०८० शनिबार २०:५८ बजे

मकवानपुर- जहाँ इच्छा त्यहाँ उपाय भने झै जहाँ खोज त्यहाँ नयाँ सोच र समाधान अवश्य भेटिन्छ । युवाहरूको लगनशीलताले नयाँ प्रविधि भित्र्याउन अझै सहजता मिल्छ । प्राविधिक सीप जीवन निर्वाहको मात्रै हैन, समयसापेक्ष योगदान समेत बन्न सक्छ भन्ने उदाहरण बागमती प्रदेशका चार जना युवाहरूले प्रमाणित गरेका छन् ।

प्रदेश सरकारले २० वर्ष पूरा भएको सवारीलाई विस्थापन गर्ने नीति लिएको बेला उनीहरूले त्यही पुरानो गाडीलाई विद्युतीय सवारीका रूपमा रिफर्मेसन गरेर नयाँ बनाएका छन् । जुन कामै नलाग्ने गडीलाई कम्तीमा १५ वर्ष चल्न सक्ने बनाइएको छ । प्रदेश सरकारको लगानीमा चार जना युवाले २० वर्ष पुरानो गाडीलाई विद्युतीय गाडीमा परिणत गरेका हुन् ।


मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका युवा विद्यार्थीहरू दीपेश बुडाथोकी, बसन्त आले, अभिषेकराज नकर्मी र रविन्द्र श्रेष्ठले इन्धनबाट २० वर्षसम्म चलेका सवारीलाई विद्युतीय सवारीमा परिणत गरेका हुन् । बागमती प्रदेश सरकारले युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यका साथ सामाजिक विकास मन्त्रालयमार्फत् आर्थिक वर्ष २०७५–७६ मा यो कार्यक्रम ल्याएको थियो । यो कार्यक्रममार्फत नै ती युवाले पुराना पेट्रोल तथा डिजेलका सवारीलाई इलेक्ट्रोनिक भेहिकल ‘इभी’मा  परिणत गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयले उनीहरूलाई १९ लाख ९० हजार रकममा सम्झौता गरेको थियो । रकम अपुग भएपछि युवाहरूले आफूहरूको लगानी समेत थपेर पुरानो सवारीलाई ‘इभी’मा परिणत गरे जसको कुल लागत २६ लाख पुगेको युवा इञ्जिनियरहरूको छ । उक्त विद्युतीय गाडीमा एक पटक चार्ज गरिसकेपछि १ सय किलोमिटर गुड्ने बताइएको छ । एकपटक चार्ज गर्दा १५० देखि २०० रुपैयाँ सम्म खर्च लाग्नेछ ।

उनीहरूलाई प्रदेश सरकारले ७ मंसिर २०७७ मा एक वर्षमा काम गर्नका लागि सम्झौता भएको थियो । उनीहरूले २०७९ भदौमा काम सकेका छन् । भौतिक पूर्वाधार निर्माण जस्तै तोकिएको समयमा उनीहरूले पनि कार्य सम्पन्न गर्न सकेनन्, कारण थियो प्राकृतिक विपत्ति । उनीहरूले प्रदेश सरकारसँग सम्झौता गरे लगत्तै कोरोना महामारी सुरु भयो । लकडाउनका कारण आवश्यक सामान ल्याउन सकिएन । चीनबाट सामान ल्याउनुपर्ने तर महामारीका कारण उडान ठप्प भयो । 'हामीले काम नै ढिला गरेर काम सुरु गर्नुपर्ने भयो,' श्रेष्ठले भने । इन्जिनियर बसन्त आलेका अनुसार कोरोना कहर कम भएपछि उनीहरूले सवारी निर्माणको काममा रफ्तार बढाएका थिए ।

उनीहरूले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको पुरानो इन्जिन झिके । विद्युतीय सवारीमा परिणत गर्ने प्रक्रिया सुरु गरे । आलेका अनुसार इभीमा परिणत गाडीमा २० किलोवाटको मोटर राखिएको छ भने त्यसको रेन्ज १२० किलोमिटर रहेको छ । ५ वटा गेयर भएको सवारीमा ४५ डिग्रीको ग्रेडिएन्टमा पनि गुड्न सक्ने बनाएका छन् ।

जतिसुकै पुराना भइसकेका पेट्रोल वा डिजल इन्जिनका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न सक्ने ति युवाहरूको दाबी छ । इन्जिनियर दीपेश बुढाथोकीले भने एक वर्षमा ६० हजार पेट्रोल गाडी रूपान्तरण गर्दा ३ वर्षमा ३४ अर्ब ५७ करोड २० लाख रुपैयाँ सरकारलाई नाफा हुने सुनाए । २०७९ साल भदौमा नै काम सम्पन्न भए पनि निर्वाचनका लागि गाडी सार्वजनिक कार्य रोकिएको थियो ।

 

थप अनुसन्धान जारी

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको पालामा प्रदेश सरकारले युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याएको थियो । युवालाई खोज तथा अनुसन्धानमा सघाउने उद्देश्यका साथ विभिन्न ५ विधामा अनुसन्धान जारी राखेको छ । युवामार्फत ५ प्रकारका नयाँ विषयमा अध्ययन तथा अनुसन्धान जारी राखेको हो ।

सरकारले विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसन्धान गर्ने योजना र जानकारी भएका युवालाई नवप्रवर्तनमा लाग्न प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत् आर्थिक वर्ष २०७५–७६ बाट यो कार्यक्रम ल्याएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेटमा यो कार्यक्रम प्रस्तुत गरे पनि कार्यविधि र कानुनको अभावका कारण काम गर्न ढिलाई भएको छ ।

पछिल्लो पटक रातो च्याउ, दाँतको तेस्रो विधि, थोरै स्थानमा धेरै माछा पालन, जडिबुटीमा पाइने रासायनिक तत्वको खोजी र पेट्रोल तथा डिजेलका सवारीलाई विद्युतीय सवारीमा परिणत गर्ने परियोजनामा काम सुरु भएको थियो । यि मध्ये दाँतको तेस्रो विधि र पेट्रोल तथा डिजेलका सवारीलाई विद्युतीय सवारीमा परिणत गर्ने परियोजना सम्पन्न भएको छ । थोरै स्थानमा धेरै माछा पालन परियोजना अन्तिम चरण पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

करिब एक वर्ष लगाएर युवा वैज्ञानिक प्रोत्साहन समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम लागू गरेको सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले बताए । कार्यविधि स्वीकृत भएपछि पहिलोपटक खोज तथा अनुसन्धान कार्य गर्न इच्छुक व्यक्तिबाट आवेदन माग गर्दै मन्त्रालयले सूचना गरेको थियो । पहिलो चरणमा प्राप्त भएका आवेदनलाई पुनःअध्ययन गरी केहीलाई प्रस्ताव पुनःलेखनका लागि पठाइएको उनले बताए । तर, उनीहरूमध्ये कसैको पनि प्रस्ताव पुनःलेखन गरी न ल्याएपछि मन्त्रालयले दोस्रो पटकको सूचना जारी गर्यो । सूचना अनुसार प्रदेशभरबाट १०२ वटा प्रस्ताव प्राप्त भएको छ ।

ती प्रस्तावलाई समितिले अध्ययन गरी उपयुक्त लागेका प्रस्तावमा आवश्यक सुधार गरी थप अध्ययनका लागि विज्ञसमक्ष पठाइएको छ । विज्ञबाट थप सुधार गरी प्राप्त भएका ५ वटा प्रस्तावलाई अनुसन्धानका लागि मन्त्रालयले स्वीकृति दिए अनुसार आवश्यक बजेटसहित अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्दै हाल ५ वटा विषयमा अनुसन्धान गरिएकामा दुईवटा योजना सम्पन्न भएको छ ।


 

छैन कानुनी मान्यता

२०७८ साल चैत १४ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सवारीलाई वातावरणमैत्री विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने उल्लेख छ । तर, स्पष्ट कानुनको अभावमा यातायात कार्यालयले रूपान्तरित सवारी साधन दर्ता गर्न सकेको छैन । त्यसैगरी हाल २० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधनको दर्ता खारेज गर्ने भनिएको छ । जसकारण पनि पुराना गाडीलाई ‘इभी’ बनाउँदा दर्ता नहुने खतरा पनि छ ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोषको व्यवस्था गरिएको छ । विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोषको स्थापना गर्न कानुनी र संस्थागत व्यवस्था गरिने सरकारको नीति छ ।

प्रदेश सवारी तथा यातायात नीति तर्जुमा गरिनुका साथै प्रदेशका प्रमुख शहर र लोकमार्गमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनसहितको एकीकृत स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर सञ्चालनमा ल्याइने प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।

पेट्रोलियम पदार्थमा रहेको अत्यधिक परनिर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने र इन्धनबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने कार्यलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था मिलाइने सरकारको नीति छ ।

सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको कार्यक्रम कार्यान्वयनमा आए पुरानो पेट्रोल तथा डिजेलका सवारीलाई विद्युतीय सवारीमा परिणत गर्न सहज हुने इन्जिनियरहरू बताउँछन् । यसो भएको खण्डमा प्रदेश सरकारकै सहयोगमा ‘इभी’ मा परिणत सवारीले पनि मान्यता पाउन सक्छ ।

बागमती प्रदेशका सरकारले २० पुराना सवारीलाई नष्ट नगरी त्यसलाई ‘मोडिफाई’ गरेर विद्युतीय सवारीमा परिणत गर्न सकिने बताउँदै आएको छ, तर नीति छैन । पुराना सवारीको इन्जिन झिकेर मोटर र ब्याट्री प्रयोग गर्दा अर्को १५ वर्षसम्म चल्न सक्ने भएकाले यसलाई प्रोत्साहन गर्न प्रदेश सरकारले कानुन निर्माण गर्ने योजना बनाएको मुख्यमन्त्री शालिकराम जमकट्टेले बताए ।


Author

थप समाचार
x