बागमती

घटनाकाे छिटाे रेस्पाेन्सका लागि मकवानपुर प्रहरीद्वारा स्मार्ट कन्ट्रोल रुम सञ्चालन

इकागज |
जेठ ३१, २०८० बुधबार १८:३ बजे

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले छिटो रेस्पोन्स गर्नको लागि स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।

मकवानपुर प्रहरीले सुरु गरेको यो स्मार्ट कन्ट्रोल रुम उपत्यकापछिको पहिलो  भएकाे दाबी गरेकाे छ। कुनै घटनापछि कन्ट्रोल रुमको १०० मा फोन गरेर मागिएको सहायतामा प्रहरी ढिलो पुग्ने गरेको कारण घटना बढी र गम्भीर हुने गरेको गुनासोलाई मध्ये नजर गर्दै यस्तो काम थलिएको जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले बताए । कन्ट्राेलको १०० नम्बर व्यस्त हुने गरेको कारण हुने ढिलाइलाई समेत अब सम्बोधन हुुने छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमकाे उदघाटन गरेका हुन् । स्मार्ट कन्ट्रोल रुम उदघाटन गर्दै उपरीक्षक गौतमले स्मार्ट कन्ट्रोल रुमको सुरुवात भएपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने बताए ।

सूचना प्रविधिको पहुँचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना,दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिति हुन सहयोग पुगोस् भनेर मकवनापुर प्रहरीको नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको थालनी गरेको गौतमले बताए ।

जिप्रका मकवानपुरमा यस अघि कन्ट्रोलको लागि एउटा मात्रै फोन थियो अब ३ वटा राखिएको छ । प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धित एपबाट थप सेवा सुरु गरिने बताएका छन् ।

प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको सहायताले प्रहरी सेवा चुस्त दुरुस्त र अभिलेखमा समेत प्रभावकारी हुने बताए ।

प्रहरी निरीक्षक केसी काठमाडौं प्रहरी परिसरमा रहेर कन्ट्रोल रुममा काम गरेका अनुभवी व्यक्ति हुन् ।

जिप्रकाको स्मार्ट कन्ट्रोल रुममै हेटौंडा बजारको सिसि टिभी क्यामराको कन्ट्रोल समेत राखिएको छ । हेटौंडा बजारमा २९ वटा सिसि टिभी क्यामराहरु राखिएका छन् । बजारको अवस्था अनुसार यो समेत अपुग रहेको गौतमले बताए ।



Author

थप समाचार
x