बागमती

कैदीबन्दीलाई खाना पकाउन राइस स्टीमर

इकागज |
असार ३, २०८० आइतबार १७:२८ बजे

मकवानपुर- बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन प्रदान गरेका छन् । आइतबार मन्त्री श्रेष्ठले गृह जिल्ला पुगेर जिल्ला कारागार, सिन्धुलीलाई चार थान राइस स्टीमर मेसिन हस्तान्तर गरेका हुन् ।

कारागारमा रहेका एक हजार कैदीबन्दीलाई दाउरा बालेर खाना बनाउन असहज तथा स्वास्थ्यमा समेत समस्या हुने गरेको गुनासो आएकाले गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खाना पकाउनका लागि राइस स्टीमर मेसिनको व्यवस्था गरिदिएको जेलर कुसल न्यौपानेले बताए ।


केही समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनका क्रममा एक हजारभन्दा धेरै कैदीबन्दीलाई खाना बनाएर खानका लागि समस्या भएको गुनासो आएको थियाे ।

'दाउरामा बिहान बेलुका खाना बनाएर खानका लागि कैदीबन्दीले भोगेको समस्या मैले आफैँले देखेँ, कैदीबन्दीको चाप देखेर अस्वाभाविक महसुस गरेँ, अनि यस्तो व्यवस्थापन गरिएको हो,' मन्त्री श्रेष्ठले भने ।

राइस स्टीमर नेपालमा भएका थुप्रै कारागारमध्य पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको हो । यो उपकरण नेपालमा सेना तथा प्रहरीले मात्रै प्रयोग गर्ने गरेका थिए । सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्न प्रयास गर्ने उनले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारलाई यसरी खाना पकाउन राइस स्टीमर प्रदान गरेको नेपालमा नै पहिलो पटक हुनसक्ने जेलर न्यौपानेले बताए । यसरी प्राप्त भएको उपकरणले कैदीबन्दीलाई खाना पकाउन सहज हुने र धुवाँबाट हुने स्वास्थ्य सम्बन्धी समस्या पनि हट्ने उनकाे भनाइ छ ।

२४ ट्रेको २ थान र १२ ट्रेकाे २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो । जसमा एक पटकमा २४ ट्रेमा ७५ किलो र १२ ट्रेमा ३५ किलो चामल पकाउन मिल्छ ।

स्टीमर हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव ध्रुव गैँडा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख राजकुमार सिलवाललगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x