बागमती

जनप्रतिनिधिको आँखामा भौतिक पूर्वाधार मात्रै ‘विकास’

इकागज |
असार ४, २०८० सोमबार २१:५८ बजे

मकवानपुर- सामाजिक विकासलाई पनि भौतिक पूर्वाधार विकास जत्तिकै महत्व दिनुपर्ने दबाबका बीच आगामी आर्थिक वर्षका लागि पनि उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ नै सबैभन्दा बढी बजेट विनियोजन गरेको छ ।

सामाजिक अभियन्ताहरूले यसको आलोचना गरेको छन् । सामाजिक क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै छन्, आँखै अगाडि आवश्यक सामाजिक विकासको सवाल छाडेर खोजि खोजि भौतिक पूर्वाधारको विकासलाई बजेट विनियोजन गरिएको अभियन्ताहरूको आरोप छ ।


असार २ गते सार्वजनिक गरिएको हेटौंडा उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान उर्जा, सडक बत्ति, आवास व्यवस्था, जलश्रोत, पर्यटन, भवन तथा आवास, सिँचाइलगायत नगर स्तरीय पूर्वाधार तर्फ ६२ करोड ३ लाख र वडा तथा बस्ती स्तरीय योजना तथा कार्यक्रमका लागि ३८ करोड ४० लाख बजेट विनियोजन गरिएको उपमेयर राजेश बानियाँले बताए ।

उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत आगामी आर्थिक वर्षका लागि ८ करोड बजेट विनियोजन गरिएको छ । हेटौंडा ४ मा निर्माणाधीन बहुवर्षीय योजना अन्तर्गत बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि २ करोड विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा सम्झौता भई आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाहरूको भुक्तानीका लागि २१ करोड २२ लाख विनियोजन गरिएको छ । संघीय सरकार समपूरक कोष अन्तर्गत पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख विनियोजन गरिएको उपमेयर बानियाँले बातए । 

साथै संघीय सरकार र प्रदेश सरकार तर्फको समपूरक कोष अन्य योजनाका लागि ३ करोड ७५ लाख विनियोजन विनियोजन गरिएको छ । नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख र न्यूनतम महसुल रकम भुक्तानीका लागि १ करोड विनियोजन गरेको छ ।

उपमहानगरले आफ्नै कार्यालय भवन नभएका वडाको प्रशासनिक भवन निर्माण तथा स्तरोन्नतिका लागि निर्माण कार्य प्रारम्भ गर्न, अधुरा कार्य सम्पन्न गर्न र मर्मत सम्भार कार्यका लागि १ करोड १५ लाख विनियोजन गरिएको छ ।

नगरको बृहतर विकासमा महत्व राख्ने ठूला आयोजनाहरूको सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइड, अनुसन्धान तथा परामर्श एवम् आवधिक योजना निर्माण गरी परियोजना बैंकका लागि ५० लाख विनियोजन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा सडकमा उज्यालो शहर कार्यक्रम अन्तर्गत हाइमास्ट लाइट जडानका लागि ७० लाख, विभिन्न पूर्वाधारहरूको आकस्मिक मर्मत सम्भारका लागि मर्मत सम्भार कोषमा २ करोड, पर्यटकीय स्थल पूर्वाधार निर्माणका लागि १ करोड विनियोजन गरिएको छ । संस्कृति प्रवर्द्धन अन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जीर्णोद्धारका लागि २ करोड ४७ लाख विनियोजन गरिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति र पुँजीगत सुधारका लागि र अटोभिलेज निर्माण र स्तरोन्नतिका लागि ८०/८० लाख विनियोजन गरिएको छ । 

हेटौंडाको कर्रा करिडोर निर्माणको निरन्तरताका लागि १ करोड, र राप्ती करिडोर निर्माण प्रारम्भ गर्न ५० लाख विनियोजन गरेका छ । बसपार्क क्षेत्रमा रहेको हङकङ बजारलाई व्यवस्थित पूर्वाधारसहित हेटौंडा कम्प्लेक्समा रूपान्तरण गर्न निर्माण कार्य प्रारम्भ गर्न ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी पिप्ले क्याम्पा रंगशाला स्तरोन्नति कार्यका लागि ५० लाख, तामाङ संग्रहालय निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । वडा कार्यालयको लागत सहकार्यमा सञ्चालन हुने बडा गौरवका योजनाका लागि ३ करोड ४० लाख, वडा नं. ७ र ८ को सिमाना सडकलाई नमुना सडक निर्माण कार्यको निरन्तरताका लागि १ करोड, वडा नं. २ को वासुदेव मार्गलाई नमुना सडक निर्माणका लागि ५० लाख, हेटौंडा ४ नगर विकास चोक पूर्व भैरव रोड सडक फुटपाथमा इन्टरलक बिच्छ्याउने कार्यका लागि ४०, हेटौंडा ५ गोई खोला रंगपथ सडक र लक्ष्मी आधारभूत विद्यालय नजिक २ स्थानमा कल्भर्ट लागि ४५ लाख विनियोजन गरिएको छ । 

हेटौंडा १९ शेरशेर कुवापानी सडक स्तरोन्नति कार्यका लागि ५० लाख हेटौंडा १ बनदेवी शिखरकोट सडक स्तरोन्नति कार्यका लागि ५० लाख, विपद व्यवस्थापन कोष तर्फ २ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी हेटौंडा १० बसपार्क बासुदेव मार्ग सडक स्तरोन्नति कार्यका लागि ४० लाख विनियोजन गरिएको छ भने हेटौंडा १९ वस्तिपुर कुवापानी सडक स्तरोन्नति कार्यका लागि ४० लाख विनियोजन गरिएको छ ।

उपमहानगरले आर्थिक विकास क्षेत्रभित्रका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ११ करोड ७६ लाख विनियोजन गरिएको छ ।

कृषि विकास तर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ५ करोड ४ लाख बजेट विनियोजन गरिएको छ । पशु विकास तर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी २ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ । उद्योग, वाणिज्य, सहकारी तथा लघु उद्यम तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख तथ पर्यटन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । वित्तीय क्षेत्र तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ५२ लाख बजेट विनियोजन गरिएको छ ।

युवाहरूलाई स्वरोजगारमा आकर्षण गरेर स्वदेशमै टिकाउ र विकाउका लागि खास कार्यक्रम अहिले पनि उपमहानगरपालिकाले ल्याउन सकेन । रोजगार प्रवर्द्धन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न जम्मा ६९ लाख बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजनाका लागि सशर्त तर्फ  ८५ लाख बजेट विनियोजन गरिएको छ । अव्यवस्थित बसोवास तथा भूमि समस्या समाधान आयोजना सम्बन्धी कार्यका लागि २५ लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास अन्तर्गत शिक्षा तर्फको सर्त र आन्तरिक बजेट तर्फको चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ९२ करोड ९२ लाख विनियोजन गरिएको छ ।

शिक्षा तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ७६ करोड ५५ लाख,स्वास्थ्य तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ६ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । युवा तथा खेलकुद तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न २ करोड ९७ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड ४२ लाख, महिला तथा बालबालिका, अपाङ्ग र जेष्ठ नागरिक तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड ५१ लाख,संस्कृति प्रवर्द्धन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न २ करोड ४७ लाख, न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड विनियोजन गरिएको छ ।

वातावरण तथा विपद व्यवस्थापान एवं सरसफाई र फोहर व्यवस्थापनका लागि ७ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ६७ लाख,फोहर मैला व्यवस्थापन र डल तथा नाला पूर्वाधारका लागि ५ करोड ६८ लाख,वारुण यन्त्र सञ्चालन र व्यवस्थापनका लागि ७९ लाख छुट्याइएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख बजेट विनियोजन गरिएको बानियाँले बताए । यस अन्तरगत संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन, सेवा प्रवाह व्यवस्थापन, सूचना व्यवस्थापन, सूचना प्रविधिको प्रयोग र व्यवस्थापन, अन्तर निकाय समन्वय, स्थानीय योजना तथा तथ्याङ्क, सामाजिक सुरक्षा र पञ्जिकरण व्यवस्थापन, सुरक्षा व्यवस्थापन, सुशासन पूर्वाधार लगायतका क्षेत्रसँग सम्बन्धित चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि सुशासन तथा संस्थागत विकास छन् ।

अन्य विविध कोषहरू भनेर ४ करोड १० लाख विनियोजन गरिएको छ । यसमा महिला तथा बाल विकास कोष, वातावरण विकास कोष, मर्मत सम्भार कोष, विपद व्यवस्थापन कोष, गरिबी न्यूनीकरण तथा सामाजिक परिचालन कोष, मानव संसाधन विकास कोष खर्च समेतका समावेश गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

उपमहानगरपालिकाले शनिबार १३ औं नगर सभामा आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गरेको हो । नगर विकासका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न  अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार ७३० बेहोर्ने छ ।

यसैगरी प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख बाट बेहोरिने छ ।
यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने अन्य कार्यक्रमहरूको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकाले प्रस्तुत बजेटमा उक्त कार्यक्रमहरूको स्रोत समावेश नगरिएको बानियाँले बताए ।
 


Author

थप समाचार
x