बागमती

हेटाैंडामा चार दसकदेखि विवादित राजमार्गका संरचना भत्काउन पहल सुरु

इकागज |
असार १०, २०८० आइतबार १०:२६ बजे

मकवानपुर । चार दशकदेखि विवादित राजमार्ग विस्तारको सवाल फेरि चर्चामा आएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले आज सूचना प्रकाशित गरेको छ ।


पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन गर्ने र काम गर्न नसक्ने कारण यो पाटो विवादमै अल्झिँदै आएको छ । 

यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भए पनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।

४ दशकदेखि विवादित र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने विषय । विभिन्न शहरको राजमार्ग चौडा गरिँदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्याेलमा नै रहँदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरुले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साघुँरो सडक र घना बस्तीको रहेको हेटौंडा बजार मानवीय बस्तीको रुपमा विकास गरेर बजारको बाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।

 पूर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेको थियो । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले २ वर्ष अघि बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्याक ओपन गरिसकेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरुको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमतिसहितको ज्ञापन पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।

विवादमा रहेका कारण आफूहरुले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोवार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा बिक्री वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको पनि कुनै पहलकदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।

सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर गरेर सार्वजनिक गरिसकेको छ । ३ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुवै तर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरुले अदालतमा रिट हालेपछि अदालतले तत्कालका लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।

डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैङ्क तथा वित्तीय संस्थाहरुलाई कार्यलय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरु मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौँडाको मेनरोडमा पर्ने डेढदर्जन बैँक र केही सरकारी कार्यालयहरुलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।

सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरुले दिएका छन् ।


Author

थप समाचार
x