बागमती

हेटौंडामा प्रदेश युवा सम्मेलन सुरु

इकागज |
असार ११, २०८० सोमबार १४:२६ बजे

मकवानपुर- बागमती प्रदेशको हेटौंडा प्रदेश युवा सम्मेलन सुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री कुमारी मोक्तानले आज सम्मेलनको उद्घाटन गरिन् । 

सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोक्तानले युवाको सवालमा काम गर्न मन्त्रालय सधैं तयार रहेको बताइन् । युवालाई स्वरोजगार बनाउन निरन्तर बजेट विनियोजन गरेको उनकाे भनाइ छ ।


कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ करोडौं बजेट मन्दिर, पाटीपौवा निर्माणमा छुट्याइएको तर, युवा उद्यमशीलताका लागि बजेट नभएको गुनासो गरे । नीति योजना र बजेट छुट्याउनु अघि नै युवाहरूको यस्तो सम्मेलन गर्नुपर्ने उनले बताए । युवालाई विदेश हैन, आफ्नो गाउँठाउँमा उद्यमी बनाउन स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनकाे जिकिर छ । 'युवाहरू विदेश पलायन भए पनि सीप दिएर पठाऔँ,' उनले भने, 'यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिनुपर्छ ।'

कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामीले युवाहरू सत्तामा पुग्ने भर्‍याङ मात्रै नभएको बताए । सिर्जनात्मक कामको थालनी युवाले गर्नुपर्ने उनले बताए । देश विदेश घुमेर सीप, सिर्जनात्मकता र लगनशीलता सिक्नुपर्ने उनले बताए । 

' सुन बनाउनेदेखि फोहोर संकलन गर्न सम्म विदेशीहरू हामी कहाँ आउँछन्, हामी नेपाली युवा चाहिँ किन बेरोजगार,' उनले प्रश्न गरे ।

कार्यक्रम बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा नरबिक्रम थापाले देशको आर्थिक सामाजिक राजनीति विकास र परिवर्तन गर्न युवाको दायित्व र योगदान भएको बताए ।

कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मेलनको बारेमा अवधारणा पत्र सार्वजनिक गरेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनले हेटौंडा घोषणा पत्र जारी गर्ने छ । सम्मेलनमा प्रदेशको १३ जिल्लाका करिब २ सय जना सहभागी छन् ।


Author

थप समाचार
x