बागमती

एमाले र राप्रपाकाे विरोधपछि बागमती प्रदेशसभा बैठक अवरुद्ध

इकागज |
असार १२, २०८० मंगलबार १७:५८ बजे

मकवानपुर- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको बैठक अवरुद्ध भएको छ ।

मंगलबार भएको दोस्रो बैठकमा प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । 


प्रदेश सरकारले बजेटलाई समावेशी ढंगबाट वितरण नगरेको, हुँदै नभएको वडामा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएको लगायतका विषयका कारण प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका थिए ।

बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आज सुरु भएको छलफलको प्रारम्भमै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरूले उठेर बैठक बहिष्कार गरेका थिए ।

थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए । बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्तो बेथितिको अन्त्य जरुरी भएको बताए ।

बजेटमा मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौँमा वडा नै नभएको स्थानमा बजेट विनियोजन भएको छ । यसप्रति उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए । बजेट पुनर्लेखन गरेर समावेशी बनाएर मात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । यसअघि बसेको बैठक ५ वटा विषयगत समिति बनाएर स्थगित गरिएको थियो । अहिले फेरि साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।


Author

थप समाचार
x