बागमती

बागमती प्रदेश : बाँडफाँट मिल्यो, दोहोरी सकियो

इकागज |
असार १८, २०८० सोमबार १७:२६ बजे

मकवानपुर- लगातार अवरुद्ध हुँदै आएको बागमती प्रदेशको संसद् बैठक सोमबारबाट नियमित हुने भएको छ । सोमबार सत्तापक्ष र प्रतिपक्ष बीचको सहमति मिलेपछि संसद् सुरु भएको हो । 

आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्ताव भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले विरोधमा उत्रेको थियो । बजेट छलफलका लागि बोलाइएको १२ असारको बैठक ३ पटकसम्म अवरुद्ध भयो । यसैगरी १३ असार र १७ असारको बैठक पनि प्रतिपक्षीको विरोधको कारण अवरुद्ध भयो  । बजेट बाँडफाँटको विषयलाई लिएर लगातार बैठक अवरुद्ध भएपछि सत्तापक्ष लचिलो भएको हो ।


यससँगै सरकार पक्ष र प्रतिपक्षीबीच चल्दै आएको दोहोरी सकिएको छ । सरकारले समानुपातिक बजेट वितरण गर्ने भन्दै प्रतिपक्षीलाई बजेटको सिलिङ थपेको स्रोतको दाबि छ । यद्यपि सरकार पक्ष र प्रतिपक्षले यसबारे प्रक्रिया दिन चाहेको छैन ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् प्रतिपक्षीसँग सदन सुचारु गर्ने सहमति भएको हो । बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले प्रतिपक्षीहरूसँग सहमति भएको र अवरुद्ध संसद् खुलेको बताए ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्वव थापा र नेमकिपाकि नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपश्चात् अवरुद्ध संसद खोल्न आफूहरू सहमत भएको बताए ।

मन्त्री श्रेष्ठले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएर बागमती प्रदेशलाई नमुना प्रदेशका रूपमा विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रस्तावित बजेटमा संशोधन हुनै पर्ने मागमा उत्रेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरूको माग सत्तापक्षबाट सुनुवाइ भएको र कार्यान्वयनमा जाने आशा प्रकट गरे । प्रतिपक्षिमात्रै हैन बजेट असन्तुलित भएकोमा सत्तापक्षभित्र नै विवाद छ । 

नेकपा एकीकृत समाजवादीका दलका नेता कृष्णप्रसाद शर्मा खनालले बजेट असन्तुलित भएको स्वीकार गरे । 'म सत्तापक्ष भए पनि बजेट वितरणमा असन्तुलन भएको स्वीकार गर्दछु, त्रुटीलाई त्रुटी भनिनु पर्छ,' उनले भने, 'कुनै निर्वाचन क्षेत्रमा ३० करोड बजेट छ कतै ३ करोड छैन, यो असमान वितरण नभएर के हो ?'

बागमती प्रदेशको बजेटमाथि असन्तुष्टि राख्दै निरन्तर तीनवटा प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । सोमबार संसद चलेपछि प्रदेशका अर्थमन्त्री बहादुर सिं लामाले नेकपा एमाले र राप्रपालाई धन्यवाद दिए ।

विपक्षी दलसँगको वार्तापछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री लामाले एमाले र राप्रपालाई धन्यवाद दिँदै सहकार्य र समन्वयमा सरकारअघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रस्तुत बजेटमा विपक्षी दलको सुझाव समेटेर बजेट कार्यान्वयन गर्ने सहमति भएको भन्दै लामाले प्रदेशसभाको बैठक अगाडि बढ्ने बताए । उनले धेरै कुरा गर्नुपर्ने छैन भन्दै बजेटलाई कार्यान्वयन गरी प्रदेशको विकास गर्ने दायित्व सबैमा रहेको बताए ।

सदनमा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले अर्थमन्त्री लामाको भनाइ व्यवहारमा कार्यान्वयन भएको हेर्न चाहेको बताए । उनले सबै जिल्ला र क्षेत्रको सन्तुलित विकास एमालेले चाहेको भन्दै व्यवहारमा सहमति देखिनुपर्नेमा जोड दिए । बैठक आगामी १९ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सभामुख भुवानकुमार पाठकले बताए ।


Author

थप समाचार
x