बागमती

बागमती प्रदेशको बजेट बहुमतले पारित

इकागज |
असार २१, २०८० बिहीबार २१:७ बजे

फाइल तस्बिर

मकवानपुर- बामगती प्रदेश सरकारले ल्याएकाे आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बागमती प्रदेशसभाबाट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको असहमतिका बीच सत्तारूढ दलका बहुमत सदस्यहरूको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको हाे । गत असार १ गते बागमती प्रदेश सरकारकाे तर्फबाट आर्थिक याेजनामन्त्री बहादुर सिं लामाले ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रदेश सभमा प्रस्तुत गरेका थियो ।


प्रदेशसभामा गत असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु भए पनि प्रतिपक्षको अवरुद्धका कारण १७ गतेबाट मात्रै छलफल सुरु भएको थियो । बजेटमाथिको छलफलमा ५४ जना प्रदेशसभाका सांसदले भाग लिएका थिए भने ९ जना सासंदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । बजेटमाथि उठेका प्रश्नको विषयगत मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिएपछि सभामा प्रस्तुत हुँदा बहुमतले पारित भएकाे हाे ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरू बजेटको पक्षमा रहँदै बजेट बहुमतले पारित भएकाे हाे । यस्तै नेकपा एमाले, राप्रपा र नेमकिपासहितका ४३ सांसदहरू बजेटकाे विपक्षमा उभिएका थिए ।

सरकारले एक पक्षीय रूपमा बजेट विनियोजन गरेको साथै बजेट वितरण असमान गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले संसद् अवरोध गर्दै आएका थिए । प्रदेश सरकारले प्रतिपक्षी दलहरूको योजनालाई समावेश गर्ने प्रतिबद्धता जनाएपछि प्रदेशसभाको अवरोध हटेकाे थियाे । सत्ता पक्षले प्रतिपक्षी दलहरूका योजनालाई पनि समावेश गर्ने सहमति छलफलबाट भएपछि बजेटमाथिकाे छलफल १७ गतेबाट सुरु भएकाे थियाे ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।


Author

थप समाचार
x