बागमती

जग्गा किर्तेको आरोप लागेपछि वडाध्यक्षसहित १० जना फरार

इकागज |
असार २५, २०८० सोमबार १८:२७ बजे

मकवानपुर- जग्गा किर्तेको आरोप लागेपछि मकवानपुरको एक स्थानीय तहका जननिर्वाचित वडाध्यक्षसहित १० जना फरार भएका छन् ।

किर्ते कागजात मार्फत छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका मकवानपुर जिल्ला थाहा नगरपालिका वडाध्यक्षसहित १० जना फरार रहेका हुन् ।


जग्गा किर्ते गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि थाहा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिव ओब्जङबहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, उनका छोरा राजु गुरुङ, १२ नम्बर वडा कै रामशरण गुरुङ, कृष्णबहादुर गुरुङ, सुकुमान स्याङ्तान, राम बहादुर स्याङ्तान र नरेश घलान फरार भएका हुन् । अदालतले उनीहरूको नाममा पक्राउ पुर्जी जारी भएपछि सबै फरार भएका हुन् ।

उनीहरूको खोजी भइरहेको पालुङ प्रहरीले जनाएको छ ।

स्याङ्जामाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सतराज गुरुङ पक्राउ परेपछि घटनाको भन्डाफोर भएको हो ।

गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मृत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरू तयार गरी विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले बताए ।

गुरुङले किर्ते कागजहरू पेस गरी आफ्नो नाममा नामसारी गरी सङ्गठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको बताएका छन् । गुरुङले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर, उक्त जग्गा बिक्री गर्न भने भ्याएनन् ।

सोही आधारमा मकवानपुरको थाहा नगरपालिका १२ घर भई काठमाडौँको कपन बस्ने सतराज गुरुङलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ राखी अनुसन्धान गरिरहेको छ । उक्त जग्गा बिक्रीका लागि बैना गर्न लाग्दा प्रहरीले फेला पारेको थियो ।

कांग्रेस निकट वडा अध्यक्ष स्यान्तान गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनबाट निर्वाचित भएका थिए ।


Author

थप समाचार
x