बागमती

धोबीखोला करिडोरमा परेका खाल्डा पुर्न मन्त्री श्रेष्ठको निर्देशन

इकागज |
मंसिर ५, २०७७ शुक्रबार १७:३५ बजे

काठमाडौं : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरमा परेका खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । शुक्रबार धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले त्यस्तो निर्देशन दिएका हुन् । उनले निर्देशन दिंदै भने, ‘अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी पुरिनुपर्छ, हजारौं सवारी साधन सञ्‍चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन ।’ 

धोबीखोलाको इजजत र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्री श्रेष्ठले बताए । ‘केही समस्या भए म र सिंगो मन्त्रालयसँग सल्लाह गर्न आउनुस्, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउनुपर्छ,’ उनले भने ।  



धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीले हप्तादिन भित्रै खाल्डाखुल्डी सडक मर्मत गरिने बताए । आगामी एक वर्षभित्र करिडोरको सम्पुर्ण काम सम्पन्न हुने दाबीसमेत तिवारीले गरे । ‘हामीले बाटो खोलिसकेका छौ केही सामान्य समस्या बाहेक कुनै ब्याबधान छैन , तोकिएकै समयमा निर्माण सक्छौँ,’ तिवारीले भने । चावहिल स्थित ओम अस्पताल पारि मंगालमा भएको खाल्डो छोप्ने आयोजना प्रमुख तिवारीले बताए । 

मन्त्री श्रेष्ठले बुध्दनगर स्थित आर्च पुलमुनि अन्डरपास निर्माणको प्रकृया थाल्न पनि निर्देशन दिए । मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सकेसम्म चालु आर्थिक वर्ष नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जनाए ।  

मन्त्री श्रेष्ठसँगै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, मन्त्रालयका सचिव डा. सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारी निरीक्षण टोलीमा थिए । टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो । 


Author

थप समाचार
x