बागमती

मनहरीका १९ प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

गाउँपालिका अध्यक्षले लामो समयदेखि मानसिक तनाव हुने गरी व्यवहार गरेको आराेप

इकागज |
असार २९, २०८० शुक्रबार २०:५७ बजे

मकवानपुर- मकवानपुर जिल्ला मनहरी गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक विद्यालयका १८ र माध्यमिक विद्यालयका १ जना गरी १९ प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् । 

गाउँपालिका अध्यक्षको व्यवहार चित्तबुदो नभएको भन्दै उनीहरूले आज सामूहिक राजीनामा दिएका छन् । शिक्षाको गुणस्तर सुधार ल्याउने बहानामा आफूहरूलाई गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले लामो समयदेखि मानसिक तनाव हुने गरी व्यवहार गरेको उनीहरूले आराेप लगाएका छन् ।


विद्यालयको गुणस्तर सुधार गर्न प्रअहरू सरुवा गर्छु भन्दै हिँडेपछि प्रअहरूले सरुवा नगरिकनै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने योजना अघि सार्न सुझाव दिएका थिए । प्रअ सरुवा गरेर मात्रै शिक्षामा गुणस्तर ल्याउने धारणा सही नलागेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 'कि त प्रअको जिम्मेवारीमा हेरफेर गर्नुपर्यो, कि त प्रअलाई अन्यत्र सरुवा गर्दा शिक्षकको हैसियतमा सरुवा गरिनु पर्यो, पुरानो स्कुलमा जति सुधार गर्न सकिन्छ, नयाँमा गएर वातावरण बुझ्नै समय लाग्छ, बरु विकल्पमा त्यहीको शिक्षकलाई प्रअको जिम्मेवारी दिन सकिन्छ,' पशुपति मावि मनहरी ४ मसिनेका प्रअ भानुभक्त आचार्यले भने, 'प्रअलाई प्रअकै हैसियतमा सरुवा गरेर शैक्षिक गुणस्तर सुधार्न सकिँदैन, भोलि फेरि प्रअकै काँधमा दोष थोपरिन्छ ।'

पहिलो लटमा १९ जनाले राजीनामा दिएको भए पनि गाउँपालिका भरका ३२ वटै विद्यालयका प्रअहरू गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको विचारमा सहमत नभएको उनले बताए । 'सम्भव उहाँहरूको पनि राजीनामा आउने छ,' आचार्यले भने ।

गाउँपालिकाका अध्यक्ष कालाखेतीले पटक पटकको औपचारिक कार्यक्रममा प्रधानाध्यापकहरूको सरुवा गर्ने अभिव्यक्ति दिएपछि प्रधानाध्यापकहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन् । गाउँपालिकाले विद्यालय सुधार गर्नका लागि भन्दा पनि प्रधानाध्यापकहरू सरुवा गर्ने उद्देश्यका साथ अगाडि बढेकाले संयुक्त रूपमा राजीनामा दिएको एक जना प्रधानाध्यापकले बताए ।

गाउँपालिका अध्यक्षले यस विषयमा छलफलका लागि गाउँपालिकामा बैठकका लागि बोलाएको र पछि आफूलाई पालिका कार्यालयबाट बाहिर निस्कीजस्ता अभिव्यक्ति गाउँपालिका अध्यक्षले दिएको नेपाल शिक्षक महासंघ मनहरीका अध्यक्ष नबराज डोटेलले बताए ।

उनले आफ्नो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीबाट राजीनामा दिइसकेको र सरुवा हुनका लागि पनि गाउँपालिकाबाट प्रक्रियामा रहेको बताए ।

गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकहरूको सरुवा गर्न खोजेको तर योग्य, सक्षम र क्षमतावान् शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिइएको प्रधानाध्यापकहरूले बताएका छन् ।

प्राथमिक तहका प्रधानाध्यापकहरूको आपसी सहमतिमा सरुवा गर्ने गाउँपालिका शिक्षा समितिले निर्णय गरेको र त्यही अनुसार कार्यान्वयनका क्रममा सरुवा गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताए ।

गाउँपालिकामा कसैले पनि संयुक्त रूपमा राजीनामा नबुझाएको र आफूलाई पायक पर्ने विद्यालयमा जान दुई वटा विद्यालयको सहमतिमा प्रधानाध्यापकहरूको सरुवा गर्न लागिएको उनले बताए । गाउँपालिकाको यो निर्णयमा सबै प्रधानाध्यापकहरू राजी रहेको र कार्यान्वयन गर्नका लागि प्रधानाध्यापकहरूले आफूले जान चाहेको विद्यालयमा फाइल समेत पेस गर्न थालेको अध्यक्ष कालाखेतीको दाबी छ ।

विद्यालयको शिक्षामा गुणस्तर सुधार गर्नका लागि यो काम गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले यसअघि पनि विद्यालय सुधार गर्ने भन्दै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई अनावश्यक रूपमा कानुन विपरीतका कुरा गरेर टर्चर दिएको र अहिले पनि प्रधानाध्यापकहरूको सरुवा गरेर विद्यालय सुधार गर्ने भनेपछि संयुक्त राजीनामा दिइएको उनीहरूको भनाइ छ ।

‘प्रधानाध्यापकहरूले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको उल्लेख छ । तर, सामूहिक राजीनामा गाउँपालिका अध्यक्षलाई बुझाउन जाँदा गाउँपालिकाले नलिएको र अपमानपूर्वक फर्काइएको महासंघ मनहरीका अध्यक्ष डोटेलले बताए ।

संघीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरूमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको बताइएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा १८ प्रावि, ९ मावि ५ निमावि छन् ।


Author

थप समाचार
x