काठमाडौँको फोहोर तीन दिनभित्र उठाइसक्ने
फाइल फोटो
काठमाडौँ - यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो ।
काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ ।
उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र आज एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मङ्गलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ ।
एक वर्षअघि काठमाडौँ महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए ।
महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
सामान्यतया काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको तीन सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ । विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया