बागमती

जग्गा माग्दै प्रदेश मन्त्रीलाई वनकरीयाको ज्ञापन पत्र

इकागज |
साउन ७, २०८० आइतबार १२:९ बजे

मकवानपुर । मकवानपुरका वनकरियाहरुले आफ्नो स्थायी बसोबासका लागि सामूहिक जग्गा माग्दै प्रदेशको मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । 

मकवानपुर जिल्ला मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा कबुलियती बनको जग्गामा बस्दै आएका उनीहरुले स्याथी बसोबासका लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन् । उनीहरुले आज पनि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वनकरिया महिला विकास संघद्वाराको नेतृत्वमा जातिगत स्थायी बसोबासको  व्यवस्था मिलाउनका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 


भूमि व्यवस्था मन्त्रालयसमेत हेर्ने गरी गाभिएको प्रदेशको कृषि मन्त्रालयका मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठलाइ उनीहरुले ज्ञापन पत्र बुझाएको वनकरिया महिला विकास  संघ संयोजक माया वनकरियाले बताइन् ।

मनहरी गाउपालिकाका ४  वडा अध्यक्ष प्रकाश थापा समेत सहभागितामा उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले वनकरिया समुदायको मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

वनकरिया समुदायले एकदशक देखि नै सामूहिक पुर्जाको माग गर्दा संघ र प्रदेशको मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै आएको वनकारिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन् । “हामीले कुनै पनि मन्त्रीलाई ज्ञापन पत्र बुझाउन छाडेका छैनौं, तर हाम्रो सुनुवाई भएकै छैन” सन्तोषीले भनिन् । हाल बसेको कबुलियती वनको जग्गामा वनसँगको सम्झौता अनुसार त्यो स्थान छाड्नु पर्ने समय नजिकिँदै जाँदा आफूहरुलाई पीडा हुँदै आएको उनले बताइन् ।


Author

थप समाचार
x