बागमती

बकैयामा ११ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण

इकागज |
साउन ७, २०८० आइतबार २०:४७ बजे

मकवानपुर- मकवानपुरको बकैयामा ११ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासी बकैयाका ५११ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।

बकैया-५ को राजदमारस्थित वडा कार्यालयमा कार्यक्रम गरी बकैया-५ का शुक्रबहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवासकुमार विक, शुसिला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, हस्तबहादुर थिङ र लक्ष्मण थिङलाई जग्गाधनी पुर्जा वितरण गरिएकाे हाे । उनीहरूले ३४० वर्गमिटर क्षेत्रफल जग्गाकाे पुर्जा प्राप्त गरेका हुन् ।


यसैगरी, बकैया ५ कै कान्छीमाया पुलामीले ३३८.२७२ वर्गमिटर र विनोद वाईवाले १५०.५२ वर्गमिटर क्षेत्रफलको जग्गा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग मकवानपुरको जनाएको छ । आयोगको गत असार १३ गतेको निर्णय अनुसार उनीहरूले पुर्जा प्राप्त गरेका हुन् । वडामा लगत संकलन भएका ६४ घरपरिवार मध्ये ११ घरपरिवारले मात्रै पुर्जा प्राप्त गरेको र बाँकीको प्रकियामा रहेको बकैया ५ नम्बर वडा कार्यालयले जनाएको छ ।

धनीपुर्जा वितरण कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेल, प्रदेश सामजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x