बागमती

हेटौंडामा राजमार्ग विस्तार तत्काल नहुने

इकागज |
साउन १०, २०८० बुधबार १५:२५ बजे

मकवानपुर । एसियन हाईवेको मापदण्डअनुसार सडक फराकिलो पार्ने काम हाललाई रोकिएको छ । 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाभित्रको सडक चौडा पार्नका लागि डिभिजन सडक कार्यालय हेटौंडाले तोकेको ३५ दिने म्याद ६ दिन बाँकी हुँदा अदालतले तत्काल नगर्न आदेश दिएको हो । 


सर्वोच्च अदालतले उपमहानगर क्षेत्र भित्र पर्ने सडक विस्तारकाे विषयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक फराकिलाे पार्ने कार्य हाललाई नहुने भएकाे हो ।

निवेदक विजयलाल जोशीले पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सडक विस्तारको विषयमा १५ दिन भित्र लिखित जवाफ माग गर्दै उक्त आदेश गरेको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले १५ (पन्ध्र) दिनभित्र प्रत्यर्थी नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत र प्रत्यर्थी नं. १० ले आफै वा आफ्नो कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला,’ अदालतको आदेशमा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइ पेस गरेको मुद्दामा निवेदक जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता युवराज भण्डारीले बहस गरेका थिए ।

विगत १ दशक अघिबाट हेटौडामा पर्ने राजमार्ग फराकिलाे पार्ने कार्यले चर्चा पाइरहेकाे छ । गत असार १० गते डिभिजन सडक कार्यालय मकवानपुरले हेटौडा १५ काे राताेमाटेदेखि राप्तिपुलसम्मकाे सडक दायाँवायाँ फराकिलाे पार्न ३५ दिने सूचना जारी गरे पछि सडक विस्तारले पुनः चर्चा पाएकाे थियाे । सूचना अनुसारकाे म्याद साउन १५ गते सकिने र १६ गतेबाट २५ गज फराकिलो पार्ने तयारी सम्बन्धित निकायले गरिरहेका थिए


Author

थप समाचार
x