बागमती

गौरव र स्वर्णिम आयोजनाका लागि पाँच अर्ब ८० करोड बजेट

इकागज |
साउन १६, २०८० मंगलबार २१:३१ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । 

महानगरपालिकाले ती योजनाका लागि रु पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि रु तीन अर्ब ८० करोड र स्वर्णिम योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । 


आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । 

त्यसैगरी नागरिकको प्रत्यक्ष चासोका विषय निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा परेका योजनालाई स्वर्णिम योजनाका रूपमा राखिएको छ । उक्त योजना १३ औँ नगरसभाको अधिवेशनमा विनियोजन वियेधकमा पेश भएर छलफलपछि सभाले पारित गरेको हो । कामपाले निर्धारण गरेका गौरवका आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ ।  

गौरवका आयोजनाअन्तर्गत ‘उज्यालो सहर’, ‘मेरो महानगर’, ‘महानगरले देख्छ’, ‘धुलोरहित सडक’, ‘रोजगारी र आय वृद्धि’, ‘काठमाडौँको समृद्धि’, ‘मेरो रहर, सुन्दर र हरित सहर’, ‘संस्कृति, सम्पदा र पर्यटन’, ‘महानगरको धन’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’, ‘सुशासनका लागि अनलाइन सेवा’ र ‘गरी खाने शिक्षा महानगरको इच्छा’ कार्यक्रमलाई समेटिएको छ ।  

त्यसैगरी स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’, ‘स्वच्छ भान्सा कार्यक्रम’, ‘खेलकुद पूर्वाधार परियोजना’, ‘एग्रो पुलिङ परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’, ‘एकल सेवा केन्द्र’, ‘श्रम बैंक’ र ‘न्याय चौतारी’जस्ता कार्यक्रम रहेका छन् ।  


Author

थप समाचार
x