कारागारका कैदीबन्दीमा ज्वरोको समस्या
सांकेतिक तस्बिर
चितवन- कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो ।
कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो सङ्क्रमण बढ्ने उनको भनाइ छ । भाइरल फिवरसँगै गर्मी समयमा छालामा लाग्ने दाज र ढुसीका कारण हुने समस्या देखिएको उनले बताए ।
उनले भने, “छालाको समस्याका बिरामीको सङ्ख्या एक सय ५० जनाभन्दा बढिरहेका छन् ।”
कारागारमा सङ्क्रमण फैलन नदिनका लागि आफूहरूले उच्च सतर्कता अपनाएको उनले जानकारी दिए । रोगको सङ्क्रमण फैलन नदिनका लागि रोगको रोकथामका लागि स्वास्थ्य शिक्षा र व्यक्तिगत सरसफाइमा ध्यान दिन लगाइएको उनले बताए ।
२५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा अहिले ५० र दुई सय ५५ जनाको क्षमता रहेको पुरुषबन्दी गृहमा सात सय २९ जना रहेका छन् । उनीहरूसँग आश्रित तीन जना बालबालिका रहेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया