बागमती

बागमतीका ५० हजार चौपायामा लम्पी स्किनविरुद्धकाे खोप लगाइने

इकागज |
साउन २४, २०८० बुधबार १९:२२ बजे

मकवानपुर । किसानहरु महासमस्याको रुपमा फैलिदैं आएको लम्पी स्किन प्रकोपविरुद्ध २५ साउनबाट बागमती प्रदेशका १३ जिल्लाको ९१ वटा स्थानीय तहहरुबाट अभियानको रुपमा खोप लगाइने भएको छ ।

प्रदेश सरकारले लम्की स्किन नियन्त्रणको लागि ७५ लाख बजेट विनियोजन गरेको छ । यो अभियानभरमा प्रदेशको १३ जिल्लाका ५० हजार वटा गाई, भैंसी तथा चौरीहरुमा खोप लगाइने छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले लम्पी स्किन नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो । यो अभियान एक सातासम्म चल्नेछ ।


हाल प्रदेशको सबै जिल्लामा गरी २ लाख ४ हजार ९८८ पशु लम्पी स्किनबाट प्रभावित छन् । जसमा १ लाख १० हजार ४४० पशु सक्रिय संक्रमित छन् । हालसम्म ६ हजार २९१ वटा पशुको मृत्यु भइसकेको छ । प्रकोप फैलिएसँगै १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाइसकिएको छ । अब २५ साउनबाट सुरु गरिने अभियानबाट ५० हजार पशुमा खोप लगाइने छ । यसको लागि ४८ हजार ५५० थान खोप सम्बन्धित निकायमा पुर्‍याइसकिएको छ भने, अभियानको क्रममा अपुग खोप खरिद गरिने छ । यो खोप लगाबापत किसानले पैसा तिर्नु पर्दैन । यो खोप लगाइएपछि गाई भैंसी वा चौंरीलाई एक वर्षसम्म एन्टिभाइरसको रुपमा काम गर्ने मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले बताए ।

लम्पी स्किन यो रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने उनले बताए । खास उपचार नभएको र लम्पी स्किनको कारण धेरै संख्यामा गाई/भैसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आएको मन्त्रालयले जनाएको छ ।

यस कारण कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको अवस्थालाई मध्य नजर गर्दै अभियानको रुपमा खोप कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस रोगको नियन्त्रणको लागि प्रभावकारी उपाय खोप लगाउने नै भएकोले लम्पी स्किनविरुद्ध खोप अभियान कार्यक्रम सञ्चालन एक महत्वपूर्ण कदम हुन सक्ने शर्माले बताए ।

लम्पी स्कीन विरुद्धको खोप अभियान मार्फत प्रदेश भरी लम्पी स्किन न्यूनीकरणका लागि जनचेतना फैलाउने काम पनिसँगै गरिने सचिव शरण पाण्डेले बताए । “कृषकको हितको लागि र यो हाम्रो जिम्मेवारी पनि हो त्यसैले लम्पी स्कीन सप्ताहव्यपी खोप अभियान कार्यक्रम बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा एकै समयमा सञ्चालन गर्न लागिएको हो” सचिव पाण्डेले भने ।

कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लाहरुमा स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप कार्य संचालन गरिने उनले बताए । खोप अभियानको लागि प्रत्येक स्थानीय तहहरुको लागि आवश्यकता अनुसार स्थानीय तहको समन्वयमा विज्ञ केन्द्रमार्फत भ्याक्सिनेटरहरु समेत नियुक्ति गरिएको पाण्डेले बताए । खोप अभियान पश्चात पनि रोगको अवस्थाका आधारमा खोप कार्यलाई निरन्तरता दिइने मन्त्रालयका सचिव पाण्डेले बताए ।

मन्त्रालय मातहतको प्रदेश दूग्ध विकास बोर्डद्वारा जिल्ला दुग्ध उत्पादक संघ तथा अन्य सरोकारवालाहरुसँग खोप अभियान सम्बन्धी समन्वयात्मक बैठक बसेर यसबारे जानकारी र प्रचार प्रसारको काम पुरा गरिसकेको बताइएको छ

सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुललाई आवश्यक खोप कार्ड, खोप अभिलेख फाराम तथा जनचेतनामुलक ब्रोसर कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट उपलब्ध गराईएको छ ।

लम्पी स्किन Poxviridae समूहको Capripox भाइरसबाट गाई भैँसीमा लाग्ने एक प्रकारको भेक्टर बोन विषाणुजन्य संक्रामक रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन । बागमती प्रदेशमा पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा गाई÷भैँसीपालनको महत्वपूर्ण भूमिका रहेको छ । यस प्रदेशमा करिब १० लाख ९९ हजार ५६० गाई, ८ लाख ०६ हजार २१३ भैँसी रहेको छ भने वार्षिक दूध उत्पादन ४ लाख ५५ हजार १४१ मे.टन रहेको छ । बागमती प्रदेशमा २०७९ पुस महिनामा मकवानपुर जिल्लामा देखिए यता लम्पी स्किनको प्रकोप १३ वटा जिल्लामा देखिएको छ ।


Author

थप समाचार
x