बागमती सरकारलाई जिम्मेवार हुन आग्रह
मकवानपुर- नागरिकको रोग, भोक र विपद्सँग सरकारकाे साथ नभएको गुनासो गर्दै बागमती सरकारले सत्तापक्षको विरोध गरेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सरकारलाई जिम्मेवार हुन आग्रह गरेको हो । विपद्को समयमा सरकार हराएको भन्दै एमालेले तत्काल संसद् बैठक बोलाउन माग गरेको छ ।
जनताका लागि आवाज बोल्ने सभा नै सुरु नगरेर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरू थप्ने र राज्यलाई थप व्ययभार बढाउने तर्फ लाग्नु लज्जाको विषय भएको संसदीय दलका नेता जगन्नाथ थपलियाले आरोप लगाए ।
आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता थपलियाले विपद्को समयमा सरकार चनाखो हुनुपर्नेमा बेपत्ता भएको र प्रदेशका नागरिकको समस्यालाई बेवास्ता गरेको बताए ।
गत असार २१ गतेबाट स्थगित भएको सदन हालसम्म बोलाउने कुनै तयारी नभएको प्रति एमालेले गम्भीर ध्यानाकर्षण रहेको भन्दै सरकार जनताको समस्याबाट दिनहुँ भागिरहेको बताए ।
‘चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तुहरूको महङ्गी बढेर नागरिकहरू तड्पिरहेका छन् । तर, सरकार कहाँ छ ? कसैलाई पत्तो छैन । अधिकांश मन्त्रीहरू राजधानी हेटौंडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरू जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन,’ उनले भने ।
प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको सात महिना भइसक्दा पनि कुनै पनि संसदीय समितिको पहिलो बैठक समेत बस्न नसकेको भन्दै तत्काल समितिलाई सक्रिय बनाएर सरकारका काम कारबाहीहरूको निगरानी बढाउनुपर्ने नै एमालेले भनेको छ ।
वर्षाको कारण प्रदेश विभिन्न जिल्लामा जन र धनको क्षति हुँदा सरकारले सम्बोधन गरेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया