Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

जनताको आवश्यकतालाई सम्बोधन गर्न कांग्रेसकाे आग्रह

इकागज |
साउन ३०, २०८० मंगलबार १९:३१ बजे

मकवानपुर- प्राकृतिक विपत्तिको समयमा जनताको आवश्यकतालाई सम्बोधन गर्न सत्तासीन नेपाली कांग्रेसले आग्रह गरेको छ । अविरल वर्षाका कारण बागमती प्रदेशमा भएको प्राकृतिक विपत्तिमा उद्धार तथा राहतका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले अपिल गरेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको पीर मर्कामा सरकार चुप रहन नहुने बताएका छन् । प्रदेश सभापति बानियाँद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा भएको प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै राहतका लागि आग्रह गरेको हो ।


निरन्तर वर्षाका कारण पहाडी भू–भागमा पहिरो र नदीहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका नागरिक उच्च जोखिममा रहेको विज्ञप्तिमा उल्लेख छ ।

'बागमती प्रदेश सरकारले विपदको पूर्व तयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सम्भाव्य जोखिमबारे पूर्वजानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु जरुरी छ, यसका लागि प्रदेश सरकार अन्तर्गतका निकायहरूलाई जोखिम क्षेत्रहरूको निगरानीका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नु आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ ।

प्रदेशभर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, उचित राहतका साथै क्षतिपूर्ति प्रदान गर्न कुनै पनि कसर नराख्न र तयारी अवस्थामा रहन बागमती प्रदेश सरकारसँग नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले अपिल गरेको छ ।

कांग्रेसको विशेष अभियान समापन

नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियान समापन गरेको छ । समापन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा अभियानका मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाले कांग्रेस विगतमा भन्दा बलियो जनविश्वास लिएर अघि बढिरहेको दाबी गरिन् ।

कार्यक्रममा बागमती प्रदेश सदस्य मकवानपुर प्रतिनिधि कैलाश कोइरालाले पार्टीलाई जनस्तरमा अझै बलियो बनाएर लैजान अभियानको आवश्यकता रहेको बताए । मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० देखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरूबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढीकरणका लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाइएको प्रतिवेदन जिल्ला कमिटी, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए ।

केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले वडा, गाउँपालिका, क्षेत्रीय र संघीय तहको आन्तरिक विशेष अभियानबाट आएको सुझावसहितको प्रतिवेदन लिएर आफ्नो रायसुझाव र आफूले बुझेको संगठनको अवस्थाबारे प्रतिवेदन तयार पारी केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने छन् ।

कार्यक्रममा बागमती प्रदेशबाट खटिएका प्रदेश क्षेत्रीय प्रतिनिधिहरू देवकी गौतम, कृष्णकुमार श्रेष्ठ सिन्धुली, विवशकुमार वाइबा, कृष्णकुमार श्रेष्ठ चितवन, पूर्व सभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, जिल्ला सदस्यहरू, संघीयरप्रदेश सभापतिहरू, जिल्लाबाट वडामा खटिएका प्रतिनिधिहरू, गाउँपालिका वडा सभापतिलगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x