नुवाकोटमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
फाइल फोटो
विदुर : नुवाकोटमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयअनुसार जिल्लामा आजसम्मको तथ्याङ्कअनुसार भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १२ जना पुगेको हो । आज थप एक जना सङ्क्रमितको उपचारको क्रममा ज्यान गएसगैँ रोगबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भित्र १७ जना पुगेको छ ।
विसं २०७७ फागुन ११ गतेदेखि सक्रिय सङ्क्रमित शून्य रहेको नुवाकोटमा कोरोनाको दोश्रो लहर गत चैत २३ गतेदेखि देखा परेको थियो । स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालका अनुसार दोश्रो लहर शुरु भएको एक महिनामा गत वैशाख २१ मा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको थियो ।
रोगको सङ्क्रमण रोक्न सोही दिनदेखि निषेधाज्ञा निरन्तर जारी गरिए पनि त्यसपछिको २० दिनको अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच गुणाले बढेर एक हजार नाघेको हो । “कोभिडको पहिलो लहरमा त्रास मात्रै देखाएको थियो, दोश्रो लहरमा सङ्क्रमणको दर निकै बढ्यो”, सूचना अधिकृत खनालले भने, “ज्यान गुमाउनेको सङ्ख्या पहिलो लहरमा एक जना मात्रै रहेकोमा दोश्रो लहरमा जिल्लाभित्र १६ थपिएका छन् ।”
जिल्लामा सक्रिय सङ्क्रमितमध्ये विदूर नगरपालिकामा मात्रै ३२२ जना छन् । बेलकोटगढी नगरपालिकामा ९१, ककनी गाउँपालिकामा ५२, सूर्यगढीमा ६६, लिखुमा ६१, शिवपुरीमा ८६, पञ्चकन्यामा १६, दुप्चेश्वरमा २१ जना छन् । यस्तै, तादीमा ६०, किस्पाङमा ९०, म्यागङमा २६ र तारकेश्रमा १२१ जना छन् ।
श्वासप्रश्वासमा समस्या देखिएका ५९ जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा र ३७ जनालाई स्थानीयतहले बनाएको आइसोलेशन केन्द्रमा चिकित्सक एवम् स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । अवस्था सामान्य भएका ९१६ जनालाई घरको एकान्तबाँस होम आइसोलेसनमा राखिएको छ । सङ्क्रमितलाई राख्न त्रिशूली अस्पतालमा ८० शय्या र स्थानीयतहले १८७ शय्याको आइसोलेशन केन्द्र बनाएका छन् ।
हालसम्म जिल्लाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई हजार ७६१ जना पुगेकोमा त्यसमध्ये एक हजार ७३२ जना निको भएर समुदायमा फर्किएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटले जिल्ला भित्रै कोरोना पहिचान भएका र ज्यान गुमाएका व्यक्तिको मात्रै तथ्याङ्क राख्ने भएकाले रोगको पहिचान, उपचार र सोही क्रममा जिल्लाभित्र देखिएका सरह जिल्ला बाहिर विशेष गरेर काठमाडौँ उपत्यकामा रहेको अनुमान छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया