बागमती

बजारमा माग कम हुँदा उद्योग सञ्चालनमा समस्या

इकागज |
जेठ १०, २०७८ सोमबार ७:४० बजे

हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन । कोभिडको दोस्रो लहर सुरु भएपछि जारी निषेधाज्ञामा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेका हुन् । बजार ठप्प हुँदा औद्योगिक उत्पादनको माग घटेको छ । एकातिर उद्योगले निषेधाज्ञा कहिलेसम्म लम्बिने जानकारी नहुँदा उत्पादन नै कम गर्न सुरु गरेका छन् । औद्योगिक उत्पादन कम हुने भएपछि उद्योगले सञ्चालन अवधि पनि घटाएका छन् ।  

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उद्योगमा कार्यरत कर्मचारीहरुलाई बिहान ६ बजेदेखि ७ बजेसम्म उद्योगमा पुगिसक्नुपर्ने र बेलुका ६ बजेदेखि ७ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू गरेको छ । केही थोरै कर्मचारीहरु भएको उद्योगमा भने उद्योगमै बस्ने व्यवस्था भएको हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए । 


अधिकांश उद्योगहरुमा कार्यरत कर्मचारीहरु घरबाट आवातजावत गर्छन । निषेधाज्ञाको अवधिभर उनीहरुलाई उद्योगसम्म ल्याउन–लैजान बसको व्यवस्था गरिएको छ । औद्यागिक क्षेत्रको गोर्खा लाहारीमा कार्यरत मिन कुमार लामिछाने भन्छन्,  ‘बिहान बस लिन आउँछ, बेलुका छोड्न जान्छ ।’ एक हप्ता उद्योगमा काम गर्ने एक हप्ता घरै बस्ने गरेको उनले जानकारी दिए ।

अहिलेको अवस्थामा ६५ उद्योगहरु मात्रै सञ्चालनमा आएको हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख कँडेलको भनाई छ । उनका अनुसार ५० उद्योगहरु अझै सञ्चालनमा आउन सकेका छैनन । ‘निषेधाज्ञा कारण ती उद्योगहरु सञ्चालनमा आएका छैनन’ उनले भने । औद्योगिक कच्चापदार्थ ल्याउन सहज भएपनि केही मजदुर कोभिड संक्रमित पनि भएका छन् । निषेधाज्ञा अवधि अघि मल्टिनेशनल कम्पनीले मात्रै कर्मचारीको लागि बसको व्यवस्थापन गरेको थियो भने अहिले चलेको सबै उद्योगले कर्मचारी ल्याउन–पु¥याउन बसको व्यवस्थापन गरेका छन् ।

औद्योगिक क्षेत्रमा भएका कुल ११२ उद्योगहरु सञ्चालनमा नआउँदा राज्यको राजश्वमा समेत कमी आउने देखिएको छ । कोभिड अघि गएको वर्षमा औद्योगिक क्षेत्रमा भएका उद्योगहरुले मासिक राज्यलाई कर, भन्सार शुल्क, आयकर लगायत गरी कुल एक अर्ब तिर्ने गरेको प्रमुख कँडेल बताउँछन् । 

उनले निषेधाज्ञा धेरै लम्बिएर बजार खुल्न सहज नभए उद्योगहरु क्रमश बन्द हुँदै जाने पनि बताए । अहिले चलेका उद्योगहरु पनि बन्द हुने अवस्था आउने सक्ने उनको भनाइ छ । यसले राज्यले उठाउने करमा समेत धक्का लाग्ने उनको अनुमान छ । हेटौंडा औद्योगिक क्षेत्रमा मात्रै करिब पाँच हजार मजदुर कार्यरत छन् । 


 


Author

थप समाचार
x