बागमती

मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्छ : बर्तौला

इकागज |
भदौ १, २०८० शुक्रबार १९:३ बजे

मकवानपुर- प्रतिनिधि सभाका सांसद महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्ने बताएका छन् । मकवानपुर-२ बाट प्रतिनिधि सभामा निर्वाचित बर्तौलाले बफरजोङको परिभाषाको दायरा फराकिलो बनाउँदै मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्ने बताएका हुन् ।

नेकपा एमालेका सचेतक समेत रहेका बर्तौलाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक सिन्धु ढुंगानासँग शुक्रबार संरक्षण क्षेत्र, निकुञ्जको कोर एरिया तथा बफरजोङका विषयमा छलफल गरेका छन् । महानिर्देशक ढुंगानासँगकाे भेटमा उनले भने, ‘निकुञ्जको कोर एरियामा सकेसम्म कंक्रिटवाल त्यो सम्भव नभए कम्तीमा अपसेट तारबार गर्नुपर्छ ।’


कंक्रिटवाल वा अपसेट तारबारले जनता र जनावरबीचमा हुने द्वन्द्व कम हुने बर्ताैलाकाे भनाइ छ । उनले ढुंगानसँग मकवानपुरको हाडीखोला क्षेत्रकाे कुरा राख्दै भने, 'बर्सेनि जंगली जनावरको आक्रमणमा परि जीउधनकाे क्षति हुन्छ । जंगली जनावरकाे कारण मानिसकाे मृत्यु भएका मृतकको परिवारले क्षतिपूर्ति वापत पाउने रकम १० लाख रुपैयाँबाट बढाएर २५ लाख पुर्याउनु पर्छ ।

उनले मनहरी लगायतको क्षेत्रमा भूमि आयोगले वितरण गर्न लागेको जग्गाको निस्सा वितरणमा निकुञ्जले समस्या खडा गर्दा कुनै पनि बेला वन र स्थानीयबीचमा समेत झडप हुन सक्ने उल्लेख गर्दै भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गा प्राप्त गर्नमा सहजीकरण गर्न समेत ढुंगानासँग अनुरोध गरेका छन् । छलफलकै क्रममा मनहरी गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेतीले आफू अध्यक्ष हुँदा राप्ती संरक्षणबाट प्राप्त र प्रतापपुर क्षेत्रको बस्ती स्थानान्तरणबाट करिब ९ सय विघाह जग्गा उकासिएकोमा खोलाले ४ सय विघाह बगर बनाउन लागेकाेले उक्त जग्गाको संरक्षण समेत गर्नु पर्ने बताए ।

सांसद बर्तौलासहितकाे टाेलीसँगकाे महानिर्देशक ढुंगानाले छलफलमा उठेका विषयकाे समाधान गर्न आफू सकारात्मक रहेको बताए । सांसद बर्तौलाले पनि विभाग सकारात्मक भए हाडिखाेला क्षेत्रमा जनतालाई पर्यटन विकासका माध्यमबाट रोजगारी सृजना गरी युवाहरूलाई स्थानीय स्तरमा नै टिकाउन सहयाेग पुग्ने धारणा व्यक्त गरे ।


Author

थप समाचार
x