बागमती

बागमती प्रदेश : बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

इकागज |
भदौ ५, २०८० मंगलबार २०:३१ बजे

मकवानपुर- बागमती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।  यसअघि उनलाई सत्तासीन दलले यो निर्णय गरिसकेको थियो ।

याेसहित बैठकले विभिन्न १२ वटा निर्णयहरू पनि गरेको छ ।


बैठकले बागमती प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आव्हान गर्ने निर्णय गरेको छ । बैठकले बागमती प्रदेश सरकार कार्य विभाजन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८० स्वीकृत सम्बन्धमा पनि निर्णय गरेको छ । 

यसैगरी प्रदेशको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति सम्बन्धमा  पनि निर्णय गरेको छ ।

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
 
यसैगरी ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि, २०८० स्वीकृति गरेको छ ।

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।  प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत गरेको छ भने विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति दिने भएको छ ।


Author

थप समाचार
x