बागमती

बागमतीका ८ अस्पतालमा एक महिनाभित्रै अक्सिजन प्लान्ट जडान गरिने

इकागज |
जेठ ११, २०७८ मंगलबार १४:२८ बजे

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेण्डर आह्वान गरेको छ ।  कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको छ ।

मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् । 


सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ८ अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्न छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको जानकारी दिइन् । प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै अक्सिजन प्लान्ट सञ्चालनमा छ । बाकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरूलाई सविधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको उनको भनाइ छ । साथै मन्त्री बस्नेतले कोभिडविरुद्ध लड्नका लागि कुनै कसर बाँकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् ।

सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एक एक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ । कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले  ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाएको छ ।
 


Author

थप समाचार
x