बागमती

दुई महिनापछि बोलाइएको बैठक बस्दै नबसी स्थगित

इकागज |
भदौ १८, २०८० सोमबार २०:३३ बजे

मकवानपुर- बागमती प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार सोमबार दिउँसो साढे १ बजेका लागि आह्वान गरेको बैठक दलहरूको सहमति नभएपछि बस्दै नबसी स्थगित गरिएको हो । 

यद्यपि प्रदेश सभाले भने सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरेको छ । सभामुख भुवनकुमार पाठकले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको कार्यसूची हटाएर अर्को बैठक यही भदौ २० गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा स्थगित भएको जानकारी गराएका हुन्  ।


प्रदेश सभा बैठक सन्चालन र कार्यसूची तयार गर्न सोमबार बिहान साढे ११ बजेदेखि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो । नेकपा एमाले लगायत विपक्षी दलहरूले आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बैठक सञ्चालन हुन नदिने अडान लिएका थिए । कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, राप्रपाका नेताहरू र सरकारबीच सहमति हुन नसकेपछि साढे १ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेसम्म बस्ने जानकारी गराइएको थियो । तर, उक्त समयमा तय गरिएको बैठक समेत सुचारु गर्न नसकिए सूचना टाँसेर स्थगित गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारले सार्वजनिक गरेको बजेटका विषयमा विपक्षी दलहरूले विरोध जनाउँदै आएका छन् । विपक्षीको विरोधपछि बजेटमा विपक्षी दलहरूले दिएका योजना पनि समेट्ने सहमति सरकारले गरेको थियो । सरकारले गरेको सहमति समेत कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले प्रदेशसभा बैठक सञ्चालन हुन नदिने अडान लिँदै आएका छन् ।

गत असार २१ गते बसेर स्थगित बैठक २ महिना पछि सोमबारका लागि आव्हान गरिएको थियो ।
 


Author

थप समाचार
x