Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

पत्रकार शुद्धीकरण अभियान निरन्तर : अध्यक्ष पोखरेल

इकागज |
भदौ २०, २०८० बुधबार २०:५६ बजे

मकवानपुर - नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार शुद्धीकरण अभियान निरन्तर जारी रहने बताएका छन् ।

पत्रकारिताको खोलमा विभन्न गतिविधि बढ्न थालेकोले महासंघले यो अभियान थालेको पोखरेलले बताए । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको ‘फिचर सङ्गालो’ पुस्तक आज हेटौंडामा विमोचन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।


महासंघ मकवानपुर शाखाको आयोजनामा पुस्तक बिमोचन तथा पत्रकार महासंघलाई मकवानपुरको मनहरी गाउँपालिकाद्वारा प्राप्त सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै महासंघका अध्यक्ष पोख्रेलले फिचर लेखन, खोज समाचार लेखन गर्नेहरुले काम गरेर पारिश्रमिक पाइन भन्ने समस्या नहुने बताए । उनले पत्रकार सदस्यता शुद्धिकरण कुनै कार्यक्रम नभई अभियान भएकोले यसको अन्त्य नहुने बताएका हुन् ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाले पत्रकारहरुलाई पत्रकारिता मात्रै गरेर जीवन निर्वाह गर्न सकिने बातावरण नहुदा समस्या भएको बताए ।

महासंघले वार्षिकरुपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका रुपमा प्रकाशन गरिएको हो ।

फिचर संगालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई पुस्तकमा समेटिएको छ । फिचर सङ्गालोमा २२ वटा फिचर समाचारहरु रहेका छन् । खण्ड क र खण्ड ख गरी दुई भागमा विभाजन गरिएको फिचर संगालो २०० पृष्ठको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जजन कालाखेती, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एंव वडा १ का वडाध्यक्ष सविन न्यौपाने, वडा ४ का वडाध्यक्ष नवीन सिग्देल, महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु भानुभक्त आचार्य, राममणि दाहाल, हरि हुमागाईं सञ्चारिका समूह बागमती प्रदेशको संयोजक सरिता दाहाललगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममै मकवानपुरको मनहरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखालाई प्रोजेक्टर र प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । फिचर सङ्गालो पुस्तक विमोचन तथा सामाग्री हस्तान्तरण कार्यक्रम महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको थियो ।


Author

थप समाचार
x