बागमती

हेटौंडा अस्पतालले बिहीबारबाट ओपिडी सेवा दिने

इकागज |
जेठ १२, २०७८ बुधबार १६:२५ बजे

हेटौंडाः कोभिड अस्पताल बनाइएको हेटौंडा अस्पतालले नन–कोभिड बिरामीलाई पनि सेवा दिने भएको छ । आकस्मिक कक्ष र प्रसूती सेवा बाहेक अन्य सबै ओपिडी सेवाहरू बन्द गरेर हेटौंडा अस्पताललाई यसअघि कोभिड अस्पताल बनाइएको थियो । हेटौंडा अस्पतालको २० एचडियू बेड कोभिड–१९ संक्रमितले भरिएपछि अस्पतालको अन्य सेवाहरू बन्द गरेको थियो । अस्पतालले बिहीबारदेखि हप्तामा २ दिन हरेक ओपिडी सेवा दिने भएको हो । 

अस्पतालले हाडजोर्नी तथा नाशारोग रोग विभागको सेवा हरेक सोमबार र बुधबार, बालरोग विभागको सेवा आइतबार र बिहीबार, सर्जरी विभागको सेवा मंगलबार र शुक्रबार, मानसिक रोग विभागको सेवा आइतबार र बिहिबार, नाककान, घाँटी रोग विभागको सेवा सोमबार र शुक्रबार उपलब्ध गराउने भएको छ । यसैगरी फिजिसियन विभागको सेवा मंगलबार र बुधबार मात्रै प्रदान गर्ने भएको छ ।


यता अस्पतालको आकस्मिक कक्षमा समेत कोभिडका बिरामीहरू उपचार गराइरहेका छन् । यस्तो जोखिमकै अवस्थामा ओपिडी सेवाहरू संचालन गर्न लागिएको हो । हेटौंडा अस्पताल बाहेक अन्य निजी अस्पतालहरुले भने ओपिडी सेवाहरू संचालन गरिरहेका छन् । यस्तो अवस्थामा सरकारी अस्पतालले सेवा प्रवाह नगर्दा सर्वसाधारणमा गलत सन्देश जाने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटा बताउँछन् । उनका अनुसार अस्पतालको कोभिड वार्डमा नखटिने चिकित्सहरूलाई प्राथमिकतामा राखेर ओपिडी सेवा संचालन गरिनेछ । 

हेटौंडा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी डा. सापकोटालाई सामाजिक विकास मन्त्रलायले प्रदान गरेको छ । यसअघि राजीनामा बुझाएका मेसु प्रविण श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरेसँगै उनले मंगलबारदेखि अस्पतालकोे जिम्मेवारी सम्हालेका हुन् ।


 


Author

थप समाचार
x