एमबीबीएस पढ्न स्थानीय तहले छात्रवृत्ति दिने
फाइल फोटो
हेटौंडा : मकवानपुरको एक स्थानीय तहले चिकित्सको अध्ययनको लागि छात्रवृत्ति दिने भएको छ । चालु वर्षदेखि एमबीबीएस अध्ययनको लागि स्थानीय तहले छात्रवृत्ति दिन लागेको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले यस्तो निर्णय लिएको छ । सरकारी विद्यालयबाट एसईई परीक्षा पास गरेको र स्थानीयलाई पालिकाले पहिलो प्राथमिकता दिने गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा आएको निवेदनका आधारमा ४ जना विद्यार्थीलाई छनोट गरी प्रतिविद्यार्थी वार्षिक ५ लाख रुपैयाँका दरले ४ वर्षसम्म छात्रवृत्ति प्रदान गरिनेछ । पालिकाभित्रका विद्यार्थीलाई चिकित्सक बन्नलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको अध्यक्ष हुमागाईको भनाई छ ।
गाउँपालिका भित्रका निम्न आय भएका परिवारका सदस्य पनि चिकित्सक बन्न सकुन भन्ने उद्देश्य लिएको उनले बताए । मकवानपुरगढी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणाधिन छ । आगामी वर्षदेखि गाउँपालिकामै अस्पताल सञ्चालनमा आउँनेछ । यसले चिकित्सक पढ्ने विद्यार्थीहरुलाई समेत थप सहज हुनेछ ।
यही जेठ मसान्तसम्म एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल हुने गाउँपालिकाभित्रका विद्यार्थीले दिएको निवेदनका आधारमा विद्यार्थी छनौट गरिने छ । एमबीबीएस अध्ययनको लागि यसअघि अन्यत्रबाट छात्रवृत्ति प्राप्त गरेकाले पालिकाले प्रदान गर्ने छात्रवृत्ति भने पाउँने छैनन । छनोट भएका विद्यार्थीलाई ४ पटक गरी प्रतिविद्यार्थी २० लाख रुपैयाँका दरले ४ वर्षमा ८० लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिने गाउँपालिको जनाएको छ ।
यता बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्नातक तहको शैक्षिक सत्र शुरु गर्ने भएको छ । चालु वर्षदेखि प्रतिष्ठानले हेटौंडामा स्नातक तहको जनस्वास्थ्य, फार्मेसी र बिएमटी अध्यापन गराउने बताएको छ । तर कोभिडका कारण केही ढिलाई हुन सक्ने प्रतिष्ठानका रजिष्ट्रर राजेश प्रसाइले बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रमको लागि प्लस टु पास गरेका विद्यार्थीसँग प्रवेश परीक्षा लिइसकेको छ । उनीहरुलाई अध्ययन गर्न पठाएसँगै शैक्षिक कार्यक्रम प्रतिष्ठानको सञ्चालन हुनेछ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५ प्रतिशत छात्रवृत्तिमा उनीहरुले पढ्न पाउँनेछन् । बागमती प्रदेश सरकारले ७५ प्रतिशत छात्रवृत्तिको लागि स्रोत सुनिश्चि गर्ने मन्त्रिपरिष्दले निर्णय गरिसकेको छ ।
प्रतिष्ठानले आगामी वर्षदेखि एमबीबीएस पनि पढाउने तयारी गरेको छ । प्रतिष्ठानले हेटौंडाको गौरिटारमा शैक्षिक कार्यक्रमको लागि भवन निर्माण गरिरहेको छ । यस्तै हेटौंडा–११ स्थित नलेज भिलेजमा तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । राष्ट्रिय चिकित्सा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शैक्षिक कार्यक्रमको तीन वटै विषय पढाउन अनुमति दिने भएको रजिष्ट्रार प्रसाईले बताएका हुन् । उनले क्रमश शैक्षिक कार्यक्रम संचालन भएपछि प्रदेशमा चिकित्सकको अभाव नहुने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया