१०२ जना ज्येष्ठ नागरिक एकै मञ्चमा सम्मानित
मकवानपुर - ब्रमकुमारी राजयोग सेवा केन्द्रले ७० बर्ष उमेर पूरा भएका १०२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा सहभागी मकवानपुर थाहा नगरपालिका ४ कि ७५ बर्षीया सान्नानी अधिकारीले आश्रमबाट पाएको सम्मान ज्येष्ठ नागरिकको लागि उर्जा भएको बताइन् । २५ वर्षदेखि आश्रममा लागेकी अधिकारीले ज्येष्ठ नागरिकको लागि सन्तानको माया र हेरचाह सबैभन्दा उच्च सम्मान हुने बताइन् ।
यसैगरी ७२ बर्षीय माधव अधिकारीले उमेरको कारण आफूले जीवनमा पहिलो पटक सम्मान पाउँदा औधि खुसी लागेको बताए । नेपाल उद्योग महासंघमा लामो समय नेतृत्व गरेका अधिकारीले बालबालिकाहरुलाई जीवनमा अभाव पनि हुन्छ भन्ने आभाष नदिएर हुर्काएका अभिभावकहरु नै कालान्तरमा अभावमा रहनु पर्ने अवस्था आफूले देखेको उल्लेख गर्दै भने “सन्तान वैदेशिक रोजगारीमा जाँदा एक्लिएका बाबुआमाहरुको लागि सोच्ने ब्यक्तिको अभाव समाजका अहिले खड्किएको छ ।”
“आफूले धेरै संघर्ष गरेको तर, सन्तानले बेवास्ता गरेको कारण धेरै ज्येष्ठ नागरिक पीडामा रहेको पाएको छु” उनले भने । ज्येष्ठ नागरिकको रुपमा पहिलो पटक सम्मान पाउदा अलौकिक आनन्द प्राप्त भएको अर्का वृद्धा दामोदर लम्सालले बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले जन्म मृत्यु प्रकृतिको लय भए पनि जिम्मेवारी पूरा गर्नु सबैको कर्तव्य भएको बताए । “आमा बुबाले सन्तानको लागि सबै जिम्मेवारी पूरा गर्छन, उमेर ढल्कदै जांदा सम्मानदेखि मृत्युपछि श्रद्वा गरेर सस्कृति अनुसार कर्म गर्ने परम्परा समाजमा छ, तर केही ज्येष्ठ नागरिकहरू जीवनकालमै अपहेलित हुनुपर्ने पीडा पनि यही समाजमा देखिन्छ” उनले भने ।
आफूलाई आफैले शान्ति दिने, ज्येष्ठ नागरिकको सम्मान स्वरुप राज्यले ज्येष्ठ नागरिक भत्ता दिएको उनले बताए । अब यसलाई मासिक १० हजार पुर्याउने प्रयासमा आफू लागि परेको उनले बताए ।
वृद्वभत्ताले घर चलाउन पर्ने अवस्था पीडादायी भएको उल्लेख गर्दै उनले भने “अर्थतन्त्र कहालीलाग्दो भएको छ, ब्यवसाय बिग्रेर घर लिलाम हुने अवस्थामा पुगेको छ, यो बेला ज्येष्ठ नागरिकहरुलाई उर्जा र प्रेरणा भर्ने काम केन्द्रले गरेको छ ।”
यसैगरी कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले सन्तान वैदेशिक रोजगारमा जांदा ज्येष्ठ नागरिकको हेरचाहमा समस्या भएको बताए । ज्येष्ठ नागरिकले सम्मान पाएमा मात्रै परिवार र समाज समृद्ध हुनसक्ने उनले बताए ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको क्षेत्रीय संयोजक शुशिला दिदीको अध्यक्षतामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले ज्येष्ठ नागरिकको योगदानको सम्मान तथा कदर गर्ने प्रयास गरेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया