बागमती

मन तानिरहने एउटा ताल

इकागज |
मंसिर ४, २०८० सोमबार १४:१५ बजे

मकवानपुर- दसैँ-तिहारको बिदामा नवलपरासी पश्चिमबाट चितवन आइपुगिन् ३९ वर्षीया शान्ति खड्का । दुई छोरा र श्रीमानको साथमा आइपुगेकी उनलाई दिन ढल्किँदासम्म बीसहजारी तालकै आसपासमा रम्ने मन पुगेको थिएन ।

'कस्तो रमाइलो ठाउँ रहेछ, जति हेरेर घुम्दा पनि मन नअगाउने' उनले भनिन् । आन्तरिक पर्यटनको क्रममा मकवानपुरबाट चितवन पुगेकी  हेटौंडाकी सम्झना घिमिरेलाई बीसहजारी ताल रुघेरै बसिरहुँ लाग्छ । 'धेरै पटक आइसके, जतिपटक आए पनि मन भरिँदैन, आउँआउँ लाग्छ, बेला बेलामा आइरहन्छु, नजिकै पनि छ' उनले भनिन् ।


रामसार क्षेत्रमा सूचीकृत यो तालको मनमोहकपनबाट लोभिन्छन् यहाँ पुग्ने सारा । बीसहजारी ताल बागमती प्रदेशको चितवन जिल्लामा अवस्थित ताल हो । चितवनको सदरमुकाम भरतपुरबाट दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र टिकौली जंगलभित्र रहेको ताललाई सन् २००३ अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो ।

थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यो तालको क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रहेकाले रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्रलाई रामसारले समेट्ने गरेको छ ।

बीसहजारी तालमा गोही विभिन्न प्रजातीका माछाको बासस्थान रहेको छ । साथै पानीमा उम्रने विभिन्न वनस्पतिको लागिसमेत संरक्षण क्षेत्र रहेको ताल आन्तरिक तथा वाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । विशेष गरी विदाको समयमा हजारौ मानिसले यो ताल तथा वरपरको क्षेत्रको अवलोकन गर्ने गरेका छन् ।

बर्षातको पानी र खगेरी नहरको पानी मुख्य स्रोत रहेको तालको क्षेत्रफल एक सय हेक्टर रहेको छ । ताल वरपरको समेत कुल क्षेत्रफल ३ हजार २ सय रहेकोमा जैविक विविधता अन्तरगत वनस्पतीका  १५४ प्रजाती, किराफट्याङ्ग्रा ३७ प्रजाती, माछा २५ प्राजाती, उभयचर सरिसृप ३० प्रजाती, स्तनधारी ३३ प्रजातीका पाइने गरेको छ ।

यसैगरी चराहरू २ सय ७३ प्रजातीको रहेकोमा सिमसार आश्रीत ६० प्रजाती, विश्वमा दुर्लभ १४ प्रजाती, राष्ट्रिय रुपमा दुर्लभ २३ प्रजातीको पाइन्छ ।

सन् १९७१ मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलन सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । उक्त सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धी भनिएको हो । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनी नामाकरण गरिँदै आएको छ ।

१९८७ मा नेपालले रामसार महासन्धिको सदस्यता लियो । यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुने गर्दछ । नेपालमा १० वटा सिमसार रामसार क्षेत्र घोषणा भएका छन् । बिसहजारी तालसँगै माइपोखरी, कोशीटप्पु, जगदीशपुर जलाशय रिजर्भ्याएर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शेफोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका रामसारमा सूचीकृत छन् ।

ध्यान पुगेन पूर्वाधार विकासमा
आकर्षक पर्यटकीय छटा भए पनि यहाँ आवश्यक पूर्वाधारको विकास अझै भएको छैन । मुख्य राजमार्गबाट १० किमीभित्र पर्ने यहाँ जाने पर्यटकहरूले आफ्नो लागि पिउने पानी, खाजाको व्यवस्था जाँदा नै लैजानुपर्छ । यहाँ शौचालयको समेत समस्या छ । रेखदेखको लागि खटिएका कर्मचारीहरूको लागि लक्षित गरी निर्माण गरिएको अव्यस्थित एउटा शौचालयले पर्यटकहरूको आवश्यकतालाई धान्न सकेको छैन ।

'स्थानीय तथा प्रदेश सरकारले समेत वास्ता नगरेको जस्तो लाग्यो' वीरगन्जबाट बीसहजारी ताल घुम्न आइपुगेका रञ्जन शाहले भने । तालको अवलोकनको लागि जानेलाई यातायातको समेत समस्या छ । नियमित सार्वजनिक सवारीको व्यवस्था नहुँदा थप समस्या भएको उनले बताए । 'यहाँ आएपछि नेटवर्कले पनि खासै काम गर्ने रहेनछ, हिँडेर फर्कने आरक्षको अनुमति छैन, बोलाएको सवारी कुर्दाकुर्दा वनको बीचमा ३ घण्टासम्म रहँदा तनाव भयो' उनले भने ।

पर्यटनलाई आकर्षण गरेर व्यवस्थित गर्न सकेमा राम्रो आम्दानीको स्रोत बन्न सक्छ यो क्षेत्र । हाल ताल प्रवेशको लागि प्रतिव्यत्ति २५ रुपैयाँ शुल्क तोकिएको छ ।

तालबाहेक आरक्षको अन्य स्थानमा घुम्नको लागि यहाँ जंगल सफारीको समेत व्यवस्था छ । चितवन र सौराहका होटलहरूले आफ्नो पर्यटन प्याकेजमा समेत यो ताललाई समावेश गरेका छन् ।


Author

थप समाचार
x