बागमती

कोदो र फापर फलाउने किसानलाई पालिकाको अनुदान

इकागज |
मंसिर ३०, २०८० शनिबार ७:५२ बजे

मनहरी- मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरू उत्साहित भएका छन् । 

गाउँपालिकाले वडा नम्बर–३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान  वितरण गर्दै सहर बजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे । 


भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा रु २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए ।

यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनले बताए ।  अनुदान पाएका किसानबाहेक अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गाउँपालिकाले पालिकाभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि  निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ र फापर प्रति केजी  रु एक सय  निर्धारण गरिएको  छ । रासस


Author

थप समाचार
x