बागमती

बालाजुमा वारुण यन्त्र कार्यालयको शिलान्यास, यस्तो बन्दैछ भवन

इकागज |
पुस १८, २०८० बुधबार १७:४३ बजे

काठमाडौँ - बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरूले जग पूजा गरेर वारुण यन्त्रको शिलान्यास गरेका हुन् । 

गतवर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गरेका थिए । यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) मा शिलान्यास गरिएको हो । 


भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रूपैयाँ गरिएको थियो । बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रूपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ । 

‘महानगरपालिका क्षेत्रभित्रका विपद जन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले वारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक स्थानमा पुर्याउँदै लगेको छ,’ विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा भने, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ । अहिले बालाजुमा निर्माण कार्यको थालनी गर्‍यौँ । यो सेवा विस्तारित हुने चरणमा छ । महानगरपालिकाले योजनावद्ध रुपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको छ ।’ 

भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अवलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ । 

भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्वरूप मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ । भित्री भाग आधुनिक शैलीको हुनेछ ।

भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट्याङ्कर राख्ने ठाउँ हुनेछ । 

जमिन मुनि र माथि छतमा गरि १ लाख लिटरको पानी ट्याङ्ककी रहनेछ  । भवनको माथिल्लो तलामा विपद व्यवस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ । 

पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरूका लागि आवाससहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ । जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षा सम्बन्धी सरसामान राख्ने कोठा हुनेछन् ।

अग्नि नियन्त्रकहरू कार्यालयको भुइँ तलामा बस्छन् । शाखा कार्यालयका प्रमुख शम्भु विष्टका अनुसार स्टेसनमा २ वटा दमकल र २ वटा फायर बाइक राखिएका छन् । 

बालाजु, स्वयम्भू, माछापोखरी, महाराजगञ्जलगायत ठाउँमा हुने आगलागीका घटनाको पहिलो रेस्पोन्स यस शाखाबाट हुने गरेको छ । यसको निर्माण २०८१ मंसिर मसान्तसम्म सक्ने महानगरको लक्ष्य छ । 

  


Author

थप समाचार
x